‘जेन-जी’ आन्दोलनका क्रममा जलेका सिंहदरबार भवन मर्मतको लागि त्रिपालले छोपियो।

काठमाडौं:= ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको देशको प्रशासनिक केन्द्र सिंहदरबारको मर्मत सुरु हुने भएको छ । सिंहदरबार क्षतिग्रस्त भएपछि बाँकी संरचनालाई मिलाएर सरकारी कार्यालय सञ्चालन भइरहेका छन् ।

यहीबीचमा सरकारले सिंहदरबारको मर्मत थालेको छ । मर्मत गर्न सिंहदरबार त्रिपालले छोपिएको छ । विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखिएको थियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए ।

विसं २०३० मा पनि सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो । यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्रशमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यसबेला उहाँले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाउनुभएको थियो ।

बत्ती तथा अन्य शृंगारका वस्तुहरू युरोपबाट मगाइएको थियो। जेन–जीको आन्दोलनमा यसपालि नेपालको शान सिंहदरबारमा व्यापक क्षति भएको छ । आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि पनि उभिनेछ सिंहदरबार ।