काठमाडौं := शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्नुभएकाे छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई मन्त्री भन्न साह्रै रहर भए कवाडी वैज्ञानिक मन्त्री भन्न आग्रह गर्नुभएकाे हाे ।
उहाँले आफ्नो पहिलो घोषणा भन्दै आफूलाई कसैले बधाई भनेर फोन नगर्न र खादा माला लिएर नआउन समेत भन्नुभएकाे छ । उहाँले शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा गर्न सकिने र गर्नपर्ने ठोस काम र ‘आइडिया’ भए ५ महिनाभित्र पठाउन आग्रह समेत गर्नुभएकाे छ।
उहाँले लेख्नुभएकाे छ, ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नू होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला । मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नु होला ।’
लामो समयदेखि वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानमा सक्रिय पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको लागि सिफारिस भएका छन् । उनीसहित अन्य मन्त्रीहरूको आज सपथ ग्रहण कार्यक्रम रहेको छ ।




















