काठमाडौं := नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनले उठाएका जायज माग सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएका अमानवीय घटनाहरूको निष्पक्ष छानबिन गर्न चारवटा उच्चस्तरीय आयोग तत्काल गठन गर्न सरकारलाई माग गर्नुभएकाे छ ।
संविधान दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा महामन्त्री शर्माले यस्तो आग्रह गर्नुभएकाे हाे। शर्माले पहिलाेमा भदौ २३ गते भएको प्रदर्शनमा देखिएको अत्यधिक बलप्रयोगको न्यायिक छानबिन गर्नु पर्ने र दोस्रोमा उच्चस्तरीय आयोगले भदौ २४ गते घुसपैठ पश्चात् भएको तोडफोड र आगजनीको सम्पूर्ण अनुसन्धान गर्नु पर्ने बताउनु भएकाे छ।
यस्तै तेस्रोमा आयोगले भ्रष्टाचारसम्बन्धी विविध मुद्दाहरूको शक्तिशाली छानबिन गर्नु पर्ने र चौथोमा २०४६ सालदेखि उच्च पदमा पुगेका प्रत्येक व्यक्तिको सम्पत्तिको परीक्षण गर्ने जिम्मेवारी पाउने प्रस्ताव उहाँले राख्नुभएकाे छ। महामन्त्री शर्माले आफूले पनि सार्वजनिक रूपमा सम्पत्तिको छानबिन खुला गर्न तयार रहेको उल्लेख गर्दै सबै राजनीतिक नेतृत्व परीक्षणको लागि तयार हुन अपिल गर्नुभएकाे छ।
उहाँले भन्नुभएकाे छ, ‘अहिलेसम्मको राजनीतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपिल गर्छु – मेरो जग्गा, जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस्। राजनीतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ।’




















