महामन्त्रीद्वयलाई महतले भने: ‘उपचार पूरा हुन पर्खन पनि सक्दैनौँ ? आकाश झरिहाल्छ?’

काठमाडौं := नेपाली कांग्रेस पार्टीका प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई नेतृत्व परिवर्तको विषयमा हतार नगर्न अनुरोध गरेका छन् ।महतले आज पत्रकार सम्मेलनका क्रममा गगन–विश्वले उठाएको नेतृत्व परिवर्तनको विषयमा हतार नगर्न भन्दै यस्तो बताएका हुन् ।

उनले अभिभावकमाथि सांघातिका हमला भएकोले अहिले पर्खिनु पर्ने बताए । ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन पनि सक्दैनौँ ? आकाश झरिहाल्छ?’ महतले भने । उनले अहिलेको अवस्थामा संयमित हुनु पर्ने उल्लेख गरे ।

डा. महतको भनाइ:

अहिले हामी सबै एक भएर आफ्ना कमीकमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने बेला हो । तर घाउ लागेको बेलामा नुन छर्ने गलत प्रवृत्ति देखिएको छ ।

२३ गतेभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने… हामी त बरु अलि टाढा भएका थियौँ । जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ । तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ । उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । बोली, बचन, वक्तव्य, उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो । हामीले भन्या थियौँ । कतिपय कुरा ठिक भइरहेको छैन । ओलीजीको सोच र शैलीले ठिक बाटोमा अघि बढ्दैन । अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै अब त एक छिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

नयाँ परिस्थितिबारे पार्टीमा अवश्य पनि मन्थन हुन्छ । गम्भीर छलफल गर्छौंं । कसरी घटना घट्यो । मूल्यांकन गर्छौँ । सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? आधिकारिक निर्णय कार्यसम्पादन समितिले गरेको भन्दा छुट्टै बहस थाल्ने ? यसे हाम्रो पार्टीलाई मजबुत गर्दैन ।