काठमाडौं := नेपाली कांग्रेसले हालै गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने निर्णय पनि गरेको छ ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक हो । त्यसको विरोध गर्नुपर्छ भन्ने निष्कर्षमा बैठक पुगेको छ,’ सहमहामन्त्री उपाध्यायले भनिन्, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, निर्वाचनको विपक्षमा जाँदैन तर प्रक्रियामा प्रश्न उठाउने निर्णय भएको छ ।’
बैठकले दशैंअघि नै केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएकाे थियाे। त्यसपछि जेनजी आन्दोलनकारीको मागअनुसार अन्तरिम सरकार गठन गरेर संसद् विघटन गरिएको हो।
जेनजी प्रदर्शनका क्रममा आगजनीका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त कार्यालयमै पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहनुभएकाे थियाे। आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा दम्पती अहिले उपचाररत हुनुहुन्छ ।




















