मेरो नेतृत्वको सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको हैन, घुसपैठ भयो: अध्यक्ष ओली।

काठमाडौं := नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष खडक प्रसाद “केपी शर्मा ओली”ले जेन जी पुस्ताको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताउनु भयो । घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र धेरै युवाहरुको ज्यान गएको बताउनु भयो । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गर्नुभयो ।

घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो । अहिले संविधानमाथि ठूलो आक्रमण भएको बताउँदै प्रधानमन्त्रीबाट आफूले राजीनामा दिएपछि पनि संहदरबार जलाइएको, नेपालको नक्शा जलाइएको, देशको निशानी मेटाउन खोजिएको बताउनु भयो । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला? उहाँको प्रश्न छ ।

उहाँले भन्नुभयो, ‘गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु । हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्शा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।  जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पती छानीछानी खरानी बनाइएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महशुस गर्नेछ । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ । तर यो कुरा समय छँदै बुझ्नु पर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।’

अध्यक्ष ओलीले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने आह्वान गर्दै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न रसंविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । एकताले नै देशसामु उत्पन्न अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्ने बताउनु भयो ।