काठमाडौं := गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिइने बताउनुभएको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’ मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।
‘सकिएन भने पनि जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ । राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरौं भन्ने छ,’ उनले आयोगमा ब्रिफिङ गर्ने क्रममा भने, ‘उहाँहरूलाई हामीले निर्वाचनमा मतदान गर्ने अवसरबाट बञ्चित गर्न हुँदैन । नेपाल सरकारबाट गर्न सक्ने हामीले गर्छौं, मलाई लाग्छ निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ ।’
उहाँले मतदाता नामावली संकलनका विषयमा अध्यादेश ल्याइने जानकारी गराउनुभयो । नो भोटको कुरा पनि धेरै अघिबाट आएको र त्यसबारे पनि सुझाव दिन आयोगलाई उहाँले आग्रह गर्नुभएको थियो । ‘यसपटक आयोगले यो गाँठो पक्कै फुकाउँछ । सम्पर्क मन्त्रालयले गर्नुपर्ने हामी गर्छौं’, मन्त्रीले अर्यालले भन्नुभयो ।




















