फिल्म ‘माइतीघर’को दमदार कथासहितको ट्रेलरमा के छ ? (भिडियो सहित)

काठमाडौं := रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ ।

ट्रेलरले चलचित्रमा हास्य र भावनात्मक दुवै पक्षलाई समेटिएको देखाउँछ । मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा रविन शेरचन र धीरज तामाङले लगानी गर्नुभएको छ भने ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताका रूपमा रहनुभएको छ । चलचित्रको कथा चन्द्रकुमार दोङले लेख्नुभएको हो भने पटकथा र संवाद रामशरण पाठकले तयार पार्नुभएको छ ।

यही बडादशैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि सिनेमाघरमा आउने यो चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई सुशन प्रजापतिले छायांकन गर्नुभएको हो भने सुरेन्द्र पौडेलले सम्पादन गर्नुभएको छ । यसमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी.योगी र स्वर्गीय जयदेवको संगीत छ । निर्माण पक्षका अनुसार, यस चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ ।

दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ । फिल्मको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ ।