काठमाडौं := अन्तरिम सरकारका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गर्नुभएको छ। अर्थ मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री खनालले भन्नुभयो, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’
खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभयो । ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनर्निर्माण लगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाउन कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभएको छ ।
‘जेन–जी’ प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो, ‘हामी विनाशबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, पुनर्निर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौँ भन्ने सन्देश दिन जरुरी छ ।’ अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
निजी क्षेत्रसँग अन्तरकिया गरेर अघि बढ्ने भन्दै उहाँले हिजोको तुलनामा परिवर्तनको महसुस हुनेगरी अर्थ मन्त्रालयले प्रयास गर्ने जानकारी दिनुभयो । अर्थमन्त्री खनालले राजस्वमा पनि कमी आउन दिन नहुने स्पष्ट पार्नुभयो। निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रूर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफैँ बढ्छ ।’ पदभार ग्रहणपछि अर्थमन्त्रीले बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ ।




















