काठमाडौं := अन्तरिम सरकारको नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गर्नुभएको छ । शपथग्रहणपश्चात् ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री घिसिङले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उठाउने गर्नुभएको हो ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उहाँलाई विद्युत् प्राधिकरणबाट हटाइएको थियो । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएर पदभार ग्रहण गर्नुभएका मन्त्री कुलमान घिसिङले ‘जेन-जी’ प्रदर्शनका क्रममा आगलागीले ध्वस्त सार्वजनिक पुनर्संरचना पुनर्निर्माण जनता आफैँले बनाउने बताउनुभएको छ ।
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचना ‘हामी आफैँ बनाउँछौँ’ अभियान चलाउने जानकारी दिँदै मन्त्री घिसिङले भन्नुभयो, ‘यसको लागि विशेष कोष खडा गरिनेछ । अर्थको सहमतिमा क्याबिनेटबाट विशेष कोष खडा गरिने, विदेशका सबै नेपालीले अपनत्व लिने अपेक्षा छ । बनाउने नि हामी नै हौँ । जति सक्नुहुन्छ, गर्नुहोला। सदुपयोग हुने विश्वास दिलाउँछु ।’
तलब/सुविधा नलिने घोषणा
ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता शहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताउनुभएको छ । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले सुरक्षा र अन्य सुविधा पनि नलिने घोषणा गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पनि स्वकीय सचिवालय नराख्ने घोषणा गर्नुभएको छ ।
आफ्नो लागि एक सवारीचालक भए पुग्ने उहाँको भनाइ छ । गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने मन्त्री खनालको तर्क छ । उहाँले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन र स्वागतको लागि खादा/माला पनि प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।




















