अन्तरिम मन्त्रिपरिषद् विस्तार, अर्थमन्त्री रामेश्वर, ऊर्जामन्त्री कुलमान र गृहमन्त्री ओमप्रकाश नियुक्त।

काठमाडौं := राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासको खण्डहर भवनबाहिर सोमबार नवनियुक्त मन्त्रीहरू अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । योसँगै कार्कीको नेतृत्वको मन्त्रिपरिषद् चार सदस्यीय बनेको छ । ‘जेन-जी’ आन्दोलनका क्रममा आगजनी भएपछि शीतलनिवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवासभित्रै भएको थियो ।

सोमबार भने खण्डहर कार्यालयबाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो । पूर्व-अर्थसचिव रामेश्वर खनाललाई अर्थ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन मन्त्रालय ऊर्जा, भौतिक योजना र सहरी विकास र अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन गरी दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पूर्व-अर्थसचिव खनाल र पूर्वकार्यकारी निर्देशक घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिनुहुन्छ । ‘जेन-जी’ आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेल्नुभएको थियो । अर्याल हाल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो ।

प्रधानमन्त्री कार्कीले ‘जेन-जी’ युवासँग परामर्श गरेर मन्त्रीहरूको छनोट गर्नुभएको हो । कार्कीले अन्य मन्त्रीहरूको चयन पनि आन्दोलनकारी ‘जेन-जी’सँगको परामर्शमा गर्ने बताइएको छ । ‘जेन-जी’ आन्दोलनको मागअनुसार पूर्व-प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री बनेको तेस्रो दिनमा उहाँले तीनजना मन्त्री चयन गर्नुभएको छ । बाँकी मन्त्रालयहरू भने प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ । नवनियुक्त तीनैजना मन्त्रीहरूले लोकप्रिय निर्णयबाट कार्यकाल सुरु गरेका छन् ।