कांग्रेसले फेरि भन्यो: संसद विघटन असंवैधानिक, नेताहरूमाथि भएको आक्रमणको घोर भर्त्सना।

काठमाडौं := नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पूर्णतः अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गरेको छ।आइतबार उपसभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा जारी वक्तव्यमा कांग्रेसले संसद् विघटनले संविधान, नागरिक अधिकार र संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत मूल्यमा ठेस पुर्‍याएको जनाएको छ।

वक्तव्यमा भनिएको छ, “जनताबाट निर्वाचित सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन असंवैधानिक कदम हो। यसले लोकतन्त्रलाई कमजोर बनाउनुका साथै सर्वोच्च अदालतको पूर्व फैसलाविपरीत कार्य भएको छ।”

कांग्रेसले जेन–जी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायत नेतामाथि भएको भौतिक आक्रमणको घोर भर्त्सना गरेको छ। साथै उनीहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरिएको छ।

कांग्रेसको निष्कर्षमा आन्दोलनमा अवाञ्छित घुसपैठका कारण सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनदेखि निजी घर र व्यवसायिक संस्थासम्म खर्बौं मूल्य बराबरको संरचना ध्वस्त हुनु ‘अकल्पनीय र दुःखद’ भएको उल्लेख छ।