गठन भएको चार वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी तितरबितर, रेशमले नयाँ पार्टी खोल्दै।

काठमाडौं := गठन भएको चार वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजित भएको छ । नाउपा संस्थापक/संरक्षक रेशम चौधरीले आइतबार पार्टी छोडेर नयाँ दल खोल्ने घोषणा गर्नुभएको हो । नाउपाबाट अलग भएसँगै उहाँले नयाँ अभियान घोषणा गर्नुभएको छ । ‘अब झगडा गरिरहनु छैन, रोइलो गर्नु छैन ।

थरुहटका नाममा ठगहरू भए, लाभका निमित्त नागरिक उन्मुक्ति पार्टीमा आए । अब म अल्झिन्नँ । आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘अलग अभियानको घोषणा गर्छु । मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

पार्टीभित्रको आन्तरिक कलह, पदका लागि हुने विवाद र आफूप्रतिको व्यवहारले आजित भएको उहाँले बताउनुभयो । ‘कहिले २१ जनाको रोइलो, कहिले १६ जनाको रोइलो, कहिले मन्त्री चाहियो, कहिले संसदीय दलको नेता परिवर्तन गर्नुपर्‍यो, म यो सबबाट मुक्त हुन चाहन्छु,’ उहाँले भन्नुभयो ।

रेशमकै अगुवाइमा २०७८ पुसमा नाउवा गठन भएको थियो । टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबासमा रहेका बेला उहाँले जेलभित्रै नाउपा गठन गर्नुभएको थियो । आफू संरक्षक बसेर उहाँले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाउनुभएको थियो ।

तर, अहिले उनी श्रीमतीसँग राजनीतिक रूपमा कुरा नमिलेपछि रेशमले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । संघ–प्रदेशमा गरी नाउपाका १६ सांसद थिए । नाउपाको सुदूरपश्चिम, लुम्बिनी र मधेसमा प्रतिनिधित्व छ । संघमा चारजना सांसद थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाई बाहिर आएपछि उहाँ र पत्नी रञ्जिताबीच बेमेल देखिएको थियो । उहाँले २०८० पुसमा पहिलो महाधिवेशन गरेर रेशम अध्यक्ष निर्वाचित हुनुभएको थियो तर, निर्वाचन आयोगले वैधता दिएन ।

त्यसपछि उहाँले २०८२ साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी रञ्जितालाई अध्यक्षबाट हटाएर बुवा लालवीरलाई अध्यक्ष बनाउनुभएको थियो । त्यसलाई पनि निर्वाचन आयोगले वैधता दिएन । अध्यक्षले मात्रै बोलाउन पाउने राष्ट्रिय भेला अरूले बोलाएको भन्दै निर्वाचन आयोगले त्यसलाई पनि अवैध भनेको थियो ।

नयाँ पार्टी खोल्ने रेशमको घोषणा

रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक नयाँ पार्टीको नेतृत्व गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो चुनाव चिह्न पनि पुरानै रहने दाबी गर्नुभयो । ‘निर्वाचन आयोगले मलाई स्वीकार नगरेसम्म म मेरो एउटा प्रतिमूर्ति स्थापना गर्छु, मेरो विचार र आवाज बोल्ने एकजना विश्वासिलो व्यक्तिलाई अगाडि सारेर म राजनीति गर्नेछु,’ उहाँले भन्नुभयो ।

उहाँले धनगढीका मेयर गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङजस्ता व्यक्तिहरूसँग हातेमालो गर्दै अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको छ । आफूलाई साथ दिने पुराना साथीहरूलाई नयाँ अभियानमा जोडिन पनि उहाँले आह्वान गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीले राजबन्दी रिहाइमा खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतलाई धन्यवाद पनि दिनुभयो । तर, त्यसपछिको यात्रा दुःखद भएको भन्दै अब आफू अलमलिन नचाहेको स्पष्ट पार्नुभयो ।

‘व्यक्तिगत अहंकार र स्वइच्छालाई मैले जित्न सकिनँ’

पार्टीभित्र आफूलाई बारम्बार ‘साधारण सदस्य पनि नरहेको’ र ’कानुनी हैसियत नभएको’ भन्दै अपमानित गरिएको उहाँले गुनासो पोख्नुभएको छ । फेसबुक लाइभमा चौधरीले पार्टी स्थापनादेखि अहिलेसम्म आफूले गरेका त्याग र योगदानको एक÷एक हिसाब प्रस्तुत गर्नुभयो ।

‘मैले डिल्लीबजारको जेलबाटै पार्टीका साथीहरूलाई तातो कफीसँगै स्वागत गर्थेँ, मेरा निर्देशनहरू पालना हुन्थे, मैले खुवाएका भातहरू, केही नेताहरूलाई साढे तीन वर्षसम्म घरभाडा दिएर पालेको कुरा सायद उहाँहरूले बिर्सनुभयो,’ उहाँले भन्नुभयो, ‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो ।

मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो । तर, व्यक्तिगत अहंकार र स्वइच्छालाई मैले जित्न सकिनँ ।’ पार्टी खोल्न किताब बेचेर आएको पैसा, आफ्नो क्षतिपूर्तिबाट पाएको रकम र निजी सम्पत्तिसमेत बेचेर लगानी गरेको उहाँले खुलासा गर्नुभयो । तर, यति गर्दागर्दै पनि आफूले जस नपाएको र उल्टै अपमानित हुनुपरेको उहाँको दुःखेसो छ ।