काठमाडौं := पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बन्नुभएकोमा मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार राती शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्दै उहाँले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गर्नुभएसँगै कलाकर्मीले बधाई तथा शुभकामना व्यक्त गरिरहेका हुन् । उहाँको नियुक्तिपछि नेपाली कलाकारहरूले सामाजिक सञ्जालमार्फत् उत्साह र समर्थन प्रकट गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकोमा कलाकारहरूले सामाजिक सञ्जाल र विभिन्न माध्यमद्वारा उत्साहजनक बधाई व्यक्त गर्दै यसलाई परिवर्तनको ऐतिहासिक क्षणका रूपमा स्वागत गरेका छन् ।
अभिनेता हरिवंश आचार्यले कार्कीको नेतृत्वले भ्रष्टाचारविरुद्ध लड्ने र प्रणालीगत सुधार गर्ने अपेक्षा व्यक्त गर्दै सबैको साथ अपरिहार्य हुने बताउनुभएको छ भने अभिनेता दीपकराज गिरीले मातृत्वसहितको संवेदनशील नेतृत्वको संकेत गर्दै शुभकामना दिनुभएको छ । यस्तै, अभिनेता अनमोल केसीले यस क्षणलाई साहसी र युगान्तकारी परिवर्तनको साक्षी भन्नुभएको छ भने अभिनेत्री आँचल शर्माले कार्कीको नियुक्तिलाई आशा र सम्भावनाको ढोकाका रूपमा व्याख्या गर्नुभएको छ ।
अभिनेता प्रदीप खड्काले नयाँ अन्तरिम सरकारलाई जिम्मेवारी पूरा गर्न शक्ति र साहसको शुभकामना दिनुभएको छ भने अभिनेता नाजिर हुसेनले यसलाई जेनजीको जित भन्नुभएको छ । यसैगरी अभिनेत्री स्वस्तिमा खड्काले कवि गोपालप्रसाद रिमालको पंक्ति उद्धृत गर्दै बधाई दिनुभएको छ भने अभिनेत्री नीति शाहले नयाँ अध्यायको सुरुवात भएको टिप्पणी गर्नुभएको छ ।
त्यस्तै, गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ संविधानको संरक्षण भएकोमा सन्तोष व्यक्त गर्दै ‘अबको आशाको गीत गाऔं’ भन्नुभएको छ भने अभिनेत्री मिरुना मगरले जेनजी पुस्ताले सम्मानसाथ विजय प्राप्त गरेको उल्लेख गर्दै नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको क्षणको प्रत्यक्षदर्शी बन्न पाउँदा गर्व लागेको बताउनुभएको छ । गायिका सारिका घिमिरेले नेपालको प्रथम महिला प्रधानमन्त्री, एक ऐतिहासिक क्षण भन्नुभएको छ भने गायक योगेशकाजीले अब देशले फड्को मार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी संगीतकार दीपक शर्माले ‘नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की आमालाई बधाई’ भन्दै नेपाली जनतासँग युवाको जनभावना बुझेर काम गरिदिनुहुनेछ भन्ने धारणा व्यक्त गर्नुभएको छ । यस्तै, अन्य थुप्रै कलाकार, गायक, गायिका, संगीतकारले पनि विभिन्न माध्यममार्फत् बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।




















