आफ्नो मनोबल उच्च बनाएर पुनः अघि बढौं, देशमा रोजगारी सिर्जना गरौं : अध्यक्ष चन्द्रप्रसाद ढकाल।

काठमाडौं := नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगे पनि निजी क्षेत्रले आफ्नो मनोबल कमजोर पार्न नहुने बताउनुभएको छ । विगतका भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता कठिन समयमा पनि आफूले उद्योगी व्यवसायीलाई हौसला दिएको स्मरण गराउँदै उहाँले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन भएको र निजी क्षेत्रले ८१ प्रतिशतभन्दा बढी अर्थतन्त्रमा योगदान दिने, ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । महासंघ अध्यक्ष ढकालले शनिबार सामाजिक सञ्जालमार्फत् एक अपिल जारी गर्दै उद्योगी व्यवसायीलाई उच्च मनोबलसाथ अघि बढ्न आग्रह गर्नुभएको हो ।

महासंघका अध्यक्ष ढकालले जेनजी प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगेको भए पनि निजी क्षेत्रले आफ्नो मनोबल कमजोर पार्न नहुने बताउनुभएको छ ।

आफ्नो लगानीमा रहेका चन्द्रागिरि र मौलाकाली केबलकारलगायतमा समेत ठूलो क्षति पुगेको र त्यसले मन दुखाएको भए पनि निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी भएकाले सबैलाई हौसला दिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । ढकालले कुनै ठूलो पुँजीबिना नै शून्यबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको स्मरण गर्दै उल्लेख गर्नुभएको छ । उहाँले भन्नुयभयो, ‘कुनै बीउ पुँजी नै थिएन मसँग तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । आफ्नो व्यवसायले २० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ, लाखौंलाई अप्रत्यक्ष रूपमा जोडेको छ, आफू निराश हुँदा २० हजारभन्दा बढी कर्मचारीको आत्मबलमा ठेस पुग्ने र अरू व्यवसायीलाई समेत नकारात्मक सन्देश जाने डरले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सार्वजनिक नगर्न कर्मचारीहरूलाई आग्रहसमेत गरेको छु ।’

अर्बौं लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरि आँसु पारेर टोलाइरहन मन लागेर पनि आफूलाई त्यसो गर्ने छुट नभएको र अहिले पनि खरानी टक्टक्याएरै उठ्नुपर्ने, हाम्रा मन र आत्मबल दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने बाध्यता रहेको ढकालले बताउनुभएको छ । व्यवसायमा सफल हुन राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन सम्भावना हेर्नुपर्ने भन्दै उहाँले सोही भावनाबाट प्रेरित भएर आफूहरूले हरेक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व होस् भन्ने उद्देश्यले सेयरमार्फत् स्थानीय साझेदारिताको मोडल अपनाएको उल्लेख गर्नुभएको छ ।