काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फ़ेरि आफैं नक्खु कारागार पुगेका छन्। हिजो शनिबार दिउँसो आफैं कारागार “जेल” पुगेका उनलाई आवश्यक सुरक्षा व्यवस्था नहुँदा केही समयमै फिर्ता पठाइएको थियो।रास्वपा नेता दीपक बोहोराका अनुसार दिउँसो लामिछाने आफैं नक्खु कारागार पुगेका थिए। तर तत्कालीन अवस्थाको कारण दिउँसो सुरक्षा प्रत्याभूति नहुँदा उनलाई कारागार प्रशासनले बाहिरै राखेको थियो।
तर, करिब पाँच घण्टासम्मको तयारीपछि कारागार प्रशासनले लामिछानेलाई कारागारमै राख्ने व्यवस्था मिलाएको छ। कारागार स्रोतका अनुसार अहिले उनलाई नेपाली सेना र नेपाल प्रहरीले उच्च सुरक्षा घेरामा राखिएको छ। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए । अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए । ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।
शनिबार लामिछाने नख्खु कारागार फर्कि सकेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले अनलाइनखबरलाई जानकारी दिए । लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए । तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।




















