सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटयो।

काठमाडौं := जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ।

अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानका विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि करिब साढे ४ घण्टा वार्ता भएको थियो। वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी थिइन् ।

राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भए पनि संसद् विघटनको सवालमा सहमत भएका छैनन् । ‘वार्तामा सकारात्मक प्रगति भएको छ तर अन्तिम टुंगो लाग्न बाँकी छ,’ वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘बिहान ९ बजेपछि फेरि बस्ने तयारी छ ।’ वार्तामा सहभागी अर्का एक अधिकारीका अनुसार अन्तरिम सरकार र संसद् विघटनका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो ।

‘संवैधानिक व्यवस्थाका विषयमा प्रश्न नउठोस् भनेर गहन छलफल गरिएको हो,’ उनले भने, ‘राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशबीच धेरै विषयमा समान धारणा छ । अबको छलफलमा सायद सहमति हुन्छ र नियुक्तिको प्रक्रिया अघि बढ्छ ।’ पूर्वप्रधानन्यायाधीश कार्कीसँग छलफल गर्नुपूर्व राष्ट्रपति पौडेलले संविधानविद्, सभामुख देवराज घिमिरे, जेन–जी विद्रोहपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललगायतसँग परामर्श गरेका थिए ।

संविधानको विद्यमान व्यवस्थाअनुसार प्रधानमन्त्री हुन पहिलो सर्त नै प्रतिनिधिसभा सदस्य हुनुपर्छ । त्यसैले संसद् बाहिर रहेकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई कुन प्रक्रियाबाट प्रधानमन्त्रीमा नियुक्ति गर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग बिहीबार लामो परामर्श गरेका थिए । जेन–जी समूहले बुधबार ‘भर्चुअल’ मतदान गरेर पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा अघि सारेको थियो । त्यसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन गरेका थिए ।

तर बालेनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजी हुनुपर्ने सर्त अघि सारेका थिए। राष्ट्रपति पौडेल भने संसद्लाई कायम राखेरै निकास खोज्नुपर्ने पक्षमा अडिग थिए । यसले पनि आन्दोलनरत पक्षसँग निर्णायक वार्ता र नयाँ सरकार गठनको प्रक्रियामा ढिलाइ भइरहेको थियो । राष्ट्रपति पौडेलले अहिलेसम्म जनताका नाममा कुनै भिडियो सन्देशसमेत जारी नगरेको भन्दै असन्तुष्टि व्यक्त हुन थालेपछि बुधबार विज्ञप्ति जारी गर्दै लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न हरसम्भव प्रयास भइरहेको सन्देश दिएका थिए।

‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदान खोजिरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेल आफैंले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।