काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफीलाई नेपाल टुर गराइने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलको दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको हो। पहिलोपटक हुन लागेको ट्रफी टुरपूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुग्ने क्यानका सचिव पारस खड्काले बताउनुभयो ।
टुरको सुरुवात कोशी प्रदेशको विराटनगर किंग्सबाट सुरु भएर सुदूरपश्चिम पुगेर सकिनेछ । टुर शनिबारदेखि सुरु भएको छ । कोशीबाट ट्रफी पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेस प्रदेशमा पुग्नेछ । मधेसबाट चितवन पुग्नेछ । चितवन राइनोजको घरेलु भूमिपछि ट्रफी काठमाडौं ल्याइनेछ । काठमाडौं गोर्खाजले संघीय राजधानीमा ट्रफी टुर सक्नेछ ।
त्यसपछि पोखरा, लुम्बिनी, कर्णाली हुँदै अन्त्यमा ट्रफी सुदूरपश्चिम प्रदेश पुग्नेछ । एनपिएलको ट्रफीलाई क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग जोडेको छ। ट्रफीको माथिल्लो भागमा कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । यही विशेष ट्रफी टुरको सुरु हुने अघिल्लो दिन शुक्रबार कीर्तिमानी पवतारोहीहरू फुन्जु जाङ्मी, मिङ्मा ग्याल्जे शेर्पा र मिङ्मा डेबिट शेर्पाले ट्रफी प्रस्तुत गर्नुभएको थियो ।
कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको ट्रफी हिजोका दिनका कीर्तिमानी पर्वतारोहीहरु फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरे । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार एनपीएल आउँदो मङ्सिर एक गतेदेखि २७ गतेसम्म अर्थात् (नोभेम्बर १७ देखि डिसेम्बर १३) तारिखसम्म चल्नेछ ।
योपटक पनि पहिलो संस्करणजस्तै आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । एनपिएलका लागि अक्सन यसअघि नै भइसकेको छ । योपटक टियु मैदानमा डे एण्ड नाइट म्याच खेलाउने तयारीमा क्यान रहेको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।




















