एजेन्सी (कोरिया):= कोरियाको राष्ट्रपति ली जे–म्यङगले ४.५ दिनको कार्यघण्टा प्रणाली ल्याउने प्रतिवद्धता जनाएपछि वित्तीय क्षेत्रमा पनि छोटो कार्यसमयको माग तीव्र बनेको छ।
कोरियन फाइनान्सियल इन्डस्ट्री युनियन (KFIU) ले हालै सेप्टेम्बर २६ मा आमहड्ताल गर्ने घोषणा गर्दै ४.५ दिनको कार्यसप्ताह कार्यान्वयनको माग राखेको हो। यस युनियनले प्रमुख वाणिज्य बैंकहरू र कोरिया डेभलपमेन्ट बैंकका श्रमिक युनियनलाई प्रतिनिधित्व गर्छ।
युनियनका प्रतिनिधिहरूका अनुसार नयाँ प्रणालीले देशको घट्दो जन्मदर, बालबालिका हेरचाह र शिक्षासम्बन्धी बोझलाई कम गर्न मद्दत गर्नेछ भने उपभोग बढाउन पनि टेवा पुर्याउनेछ। उनीहरूले वित्तीय क्षेत्रले २००२ मा पहिलोपटक पाँच दिन कार्यसप्ताह ल्याएजस्तै फेरि कामकाज संस्कारमा परिवर्तनको नेतृत्व गर्नुपर्ने दाबी गरेका छन्।
“यो प्रस्ताव केवल वित्तीय क्षेत्रका कामदारहरूको लागि मात्र होइन, समग्र समाजमा काम–जीवन सन्तुलन र जीवनस्तर सुधारको सुरुवात हो,” युनियन अध्यक्ष किम ह्युङ–सुनले भने। उनका अनुसार, हड्तालको पक्षमा ९४.९८ प्रतिशत समर्थन हुनु कामदारहरूको जीवनस्तर उकास्ने सामूहिक चाहना हो।
गत वर्ष पनि युनियनले यस्तै माग राख्दै हड्तालको चेतावनी दिएको थियो तर अन्तिम क्षणमा योजना फिर्ता लिएको थियो। तर यसपटक भने यो आन्दोलन सरकारकै एजेण्डासँग मेल खाएकाले बलियो बन्दै गएको देखिएको छ।
ली प्रशासनले आगामी वर्षको बजेटमा ३२.५ अर्ब वोन (करिब २३.३३ मिलियन डलर) छुट्याएर ४.५ दिनको कार्यसप्ताह अपनाउने कम्पनीलाई सहयोग गर्ने र बालबालिका तथा परिवारलाई सहयोग गर्ने कार्यक्रम अघि सारेको छ।
तर, सार्वजनिक चिन्ता भने कायमै छ। छोटो कार्यसमयले बैंकको शाखा सञ्चालन समय घटाउने र ग्राहकलाई असुविधा हुने आशंका छ। साथै धेरैको धारणा छ कि बैंकका कर्मचारीहरू पहिले नै अन्य क्षेत्रका तुलनामा राम्रो तलब र छोटो कार्यसमय पाउँदै आएका छन्। eps nepal family




















