अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोलले हरायो,उरुग्वे, कोलम्बिया र पराग्वे विश्वकपमा।

एजेन्सी (लण्डन):= फिफा विश्वकप फुटबलको छनोट प्रतियोगितामा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोलको फराकिलो अन्तरले हराएको छ । अर्जेन्टिनाले यसअघि नै आगामी विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो । अर्जेन्टिनाको जितमा स्टार खेलाडी लियोनल मेसीले दुई गोलको योगदान गर्नुभयो ।

अर्जेन्टिनाले घरेलु मैदानमा खेलको प्रारम्भदेखि नै भेनेजुएलालाई दबाबमा राखेको थियो । निर्धारित समयको ३९औं मिनेटमा मेसीले पहिलो गोल गर्नुभएको थियो । यसैगरी, निर्धारित समयको ७६औं मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो । खेल सकिनुभन्दा १० मिनेटअघि मेसीले टोलीका लागि अर्को गोल थप्नुभएको थियो ।

अर्जेन्टिनासँग हारेपछि भेनेजुएलाको विश्वकप खेल्ने सपना अझ चुनौतीपूर्ण बनेको छ । अर्जेन्टिना १७ खेलबाट ३८ अंक बटुल्दै विश्वकपमा छनोट भएको हो । विश्वकप छनोटमा अब अर्जेन्टिनाले एक खेलमात्र खेल्न बाँकी छ । अर्जेन्टिनाले १७ मध्ये १२ खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हारको नतिजा निकालेको छ । भेनेजुएला भने १७ खेलबाट १८ अंक बटुल्दै तालिकाको सातौं स्थानमा आसिन छ ।

विश्वकपमा स्थान बनाउन अब भेनेजुएलाले अन्तरमहादेशीय प्ले-अफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु पर्नेछ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । त्यसमध्ये माथिल्लो ६ स्थानमा रहने टोली सिधैं विश्वकपमा छनोट हुने प्रावधान छ ।

यसैगरी, सातौं र आठौं स्थानमा रहने टोलीले भने विश्वकपमा छनोट हुन अन्तरमहादेशीय प्ले-अफ खेल्नु पर्नेछ । नवौं र दशौं स्थानमा रहने टोलीको विश्वकप खेल्ने सपना समाप्त हुनेछ । सबै टोलीले अब एक-एक खेल खेल्न बाँकी छ ।यसैबीच, उरुग्वे, कोलम्बिया र पराग्वेले अन्तिम-अघिल्लो चरणमै विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।

दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबारको खेलमा उरुग्वे र कोलम्बियाले ३-० को जित निकाले भने पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश सुनिश्चित गरेको हो । यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो टिकट पक्का गरिसकेका छन् । पछिल्ला दुई खेलमा जित आवश्यक परे पनि उरुग्वेसँग पराजित भएपछि पेरु विश्वकपको दौडबाट बाहिरिएको छ । एजेन्सी