एमालेको विधान संशोधन: अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने उपाध्यक्ष पौडेलको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं := नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तावित विधान संशोधन पारित भए मौजुदा संरचना र पदाधिकारी सङ्ख्यामा ठूलो फेरबदल हुने भएको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रस्ताव अनुसार हालको ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई घटाएर २५१ सदस्यीय बनाइनेछ।

त्यस्तै, एमालेले केन्द्रीय निकाय सातबाट बढाएर आठ पुर्‍याउने निर्णय प्रस्ताव गरेको छ। नयाँ संरचनामा राष्ट्रिय महाधिवेशन, नीति अधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् रहनेछन्। पोलिटब्युरो र स्थायी कमिटीलाई केन्द्रीय कमिटी मातहत राखिने व्यवस्था प्रस्ताव गरिएको छ।

धारा १५ अनुसार विधान अधिवेशनलाई अबदेखि नीति अधिवेशनका रूपमा सञ्चालन गर्ने प्रावधान राखिएको छ। त्यस्तै, पार्टी अध्यक्षको अधिकार पनि बढाइँदै वरिष्ठ नेताको व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ।

संशोधन प्रस्तावअनुसार अध्यक्षले सबै केन्द्रीय निकायको अध्यक्षता गर्ने, राजनीतिक प्रतिवेदन पेस गर्ने, महासचिवलाई बैठक आह्वान गर्न निर्देशन दिने, कार्यसूची प्रस्ताव गर्ने, बैठक सञ्चालन र निर्णय प्रमाणीकरण गर्ने तथा अन्तरपार्टी निर्देशन जारी गर्ने अधिकार पाउनेछन्। यसअघि शक्तिशाली निकायका रूपमा रहेको सचिवालय र केन्द्रीय कार्यालयलाई हटाएर महासचिवमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

यस्तै, दुई महाधिवेशनबीचमा महाधिवेशन प्रतिनिधि परिषद् एकपटक आयोजना गर्ने प्रावधान राखिएको छ। केन्द्रीय आयोगहरू (अनुशासन, लेखा, निर्वाचन) का अध्यक्षहरूको मर्यादाक्रम पोलिटब्युरो सदस्य सरह र सदस्यहरूको मर्यादाक्रम केन्द्रीय सदस्य सरह हुने गरी प्रस्ताव गरिएको छ।