क्वालालम्पुर (मलेसिया):= मलेसियन आप्रवासन अध्यागमन विभाग “इमिग्रेशन”ले मंगलबार राति बुकित बिन्ताङमा अवस्थित जलान बेदारा, जालान आलोर बुकित बिन्ताङ क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेसनमा करिब ८०० जना अवैध विदेशी आप्रवासी नागरिकहरु पक्राउ परेका छन्।
अध्यागमन विभागको कार्यान्वयन प्रभागका निर्देशक बस्री उस्मानका अनुसार “अप्स बेलाञ्जा” नामक अभियान तीन सातादेखि सार्वजनिक गुनासोका आधारमा सञ्चालन गरिएको थियो । वहाँका अनुसार छापामारीका क्रममा अनलाइन जुवाखाना समेत भेटिएको थियो, जसमा सीसीटीभी जडान गरिएको थियो। “ढोका फोडेर प्रवेश गर्दा सात जना विदेशी अझै अनलाइन जुवामा व्यस्त थिए र उनीहरूलाई समेत पक्राउ गरिएको छ,” उनले भने।
अन्धकारपूर्ण वातावरण र साँघुरा गल्लीका कारण अपरेसनमा कठिनाइ भए पनि १०६ जना अधिकारीहरूले २,४४५ व्यक्तिको अवस्था जाँच गरेका थिए, जसमा १,६०० विदेशी र ८४५ स्थानीय थिए। त्यस मध्ये ७७० जना विदेशी विभिन्न आप्रवासन अपराधका कारण पक्राउ परेका छन्, जसमा परिचयपत्र नभएको, भिसाको अवधि नाघेको र अवैध कागजात प्रयोग गरेको लगायतका कानुन उल्लङ्घन अपराध समावेश छन्।

पक्राउ परेकामध्ये ३७७ जना बंगलादेशी पुरुष, २३५ जना म्यान्मारका, ७२ जना नेपाली, ५८ जना भारतीय, १७ जना इन्डोनेशियाली (२ महिला सहित), साथै अन्य मुलुकका ३ पुरुष र ६ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ६५ वर्षबीचको छ। उनीहरूलाई प्रारम्भिक स्क्रिनिङका लागि पुतराजयास्थित आप्रवासन विभागमा लगिएको र त्यसपछि थप अनुसन्धानका लागि बुकित जलिल तथा लेङ्ग्गेङ आप्रवासन डिपोमा राखिने जनाइएको छ।
यो कारबाही आप्रवासन ऐन १९५९/६३ (धारा १५(१)(c) – अवधि नाघ्ने, धारा ६(१)(c) – वैध कागजात नभएको), आप्रवासन नियमावली १९६३ (नियम ३९(b)), पासपोर्ट ऐन १९६६, तथा मानव तस्करी तथा आप्रवासीहरूलाई गैरकानुनी रूपमा ओसारपसार गर्न निषेध गर्ने ऐन २००७ अन्तर्गत जाँच भइरहेको छ। बस्रीले अवैध आप्रवासीहरूलाई संरक्षण नगर्न सर्वसाधारण र नियोक्ताहरूलाई चेतावनी दिए। “सार्वजनिकले पाएको जानकारी आप्रवासन विभागलाई दिन सक्नेछन्, जसले यस्ता कारबाहीलाई थप प्रभावकारी बनाउनेछ,” उनले भने। Source : Bernama




















