टोकियो, सेप्टेम्बर ४ – फरेक्स जापान कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत “७७ को रंग, Fjpay संग” नामक विशेष क्याम्पेन औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फरेक्स जापानले लामो समयदेखि जापानबाट नेपालसहित विभिन्न मुलुकमा भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। यसै निरन्तरतामा, कम्पनीले आफ्नो मोबाइल एप्लिकेशन (Fjpay) मार्फत रकम पठाउने सेवामा नयाँ सामाजिक अभियान सुरु गरेको हो।
यस अभियानअन्तर्गत जापानस्थित नेपाली संस्थाहरूसँग सहकार्य गर्दै प्रत्येक संस्थालाई १० मान येन (१ लाख जापानी येन) सहयोग उपलब्ध गराइनेछ, जुन आपतकालीन राहत कोषमा खर्च गरिने कम्पनीले जनाएको छ।
यसै गरी, हरेक महिनामा फरक–फरक जिल्लासँग सम्बन्धित कला, साहित्य, पर्यटन स्थल, ऐतिहासिक तथा धार्मिक स्थलबारे प्रचार–प्रसार गरिनेछ। अभियानमा सहभागिता जनाउँदै आफ्ना जिल्ला वा गाउँसँग सम्बन्धित फोटो वा भिडियो पठाउन पनि सबैलाई अनुरोध गरिएको छ।
यसपटक दोलखा समाज जापान लाई १० लाख येन हस्तान्तरण गरिएको छ भने आगामी अक्टोबर महिनामा धादिङ समाज जापान र नोभेम्बरमा स्याङ्जा समाज जापान लाई सहयोग गरिने छ।
फरेक्स जापानले यो अभियानमार्फत नेपाली समुदायबीच एकता र सहकार्यको भावना बढाउने, स्थानीय संस्थालाई सशक्त बनाउने र जापानमा रहेका नेपालीहरूलाई आफ्नो जिल्ला र ठाउँसँग अझ नजिक बनाउने लक्ष्य लिएको छ।




















