नेपालमा दर्ता नभएका सक्रिय सामाजिक सञ्जाल बन्द।

काठमाडौं := दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो।

‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ टेलिकमले भनेको छ।

टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ। एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ । प्राधिकरणले बिहीबार पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो। त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् ।