एजेन्सी (मुम्बई):= बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान कृषि जमिन खरिद प्रकरणमा विवादमा पर्नुभएको छ । महाराष्ट्र सरकारले किसानलाई खेतीका लागि वितरण गरेको अलिबागको थाल गाउँस्थित जमिन सुहानाले खरिद गरेपछि समस्या उत्पन्न भएको हो ।
कानुनअनुसार त्यस्तो जमिन खरिद गर्न कलेक्टरको स्वीकृति अनिवार्य हुन्छ । तर, उहाँले अनुमति नलिएको र आवश्यक कागजी प्रक्रिया पूरा नगरेको आरोप छ । सुहानाले मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट करिब १२.९१ करोड भारुमा जमिन खरिद गर्नुभएको थियो । खरिदमा ७७.४६ लाख भारु स्ट्याम्प शुल्क पनि तिरेको तथ्य फेला परेको छ ।
यो कारोबार गत मे ३०, २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत भएको थियो । मुम्बई प्रहरीका आवासीय अधिकारीले यसबारे थप विवरणका लागि अलिबाग तहसीलदारबाट प्रतिवेदन मागेका छन् । महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार गैरकिसानले कृषि जमिन खरिद गर्न नपाउने व्यवस्था छ ।
किसानलाई दिइएको जग्गा सिधै बिक्री गर्न पनि कलेक्टरको स्वीकृति लिनुपर्ने प्रावधान छ । यसैबीच, सुहाना चाँडै आफ्ना पिता शाहरूख खानसँग फिल्म ‘किङ’ मा देखिने हुनुभएको छ। यसअघि उहाँले चलचित्र ‘द आर्चीज’ बाट बलिउड डेब्यू गर्नुभएको थियो ।




















