नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक: आमाको पनि बंश कायम हुने ब्यवस्था।

काठमाडौं := गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताउनुभयो ।

“हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका आधारमा सन्तानले नागरिकता प्राप्त गर्छ भन्ने कुरालाई विधेयकमा सुनिश्चित गरिएको छ । बाबुको पहिचान नभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयकको आधारभूत तत्व हो”, उहाँले भन्नुभयो ।

विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, “संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुने छैन । साथै नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्नेगरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।”

विद्यमान सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नुपरेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाका सन्तान नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गीकृत नागरिकता प्राप्त गर्नसक्ने उहाँको भनाइ छ ।

मन्त्री लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रमुख व्यवस्थाहरु यसरी बुँदागतरुपमा प्रस्तुत गरे ।

१‍‍. आमालाई प्रसुती गृहमा भर्ना गरेपश्चात कोही कसैलाई थाहा जानकारी नदिइ भागी गएको र हालसम्म सम्पर्कमा नआएको, बाबुको नाम उल्लेख गरे पनि निजलाई देख्न र चिन्न नपाएको, बाबु हो भनी अरुले देखाएको मानिस भएपनि निज हाल जीवित वा मृत केही थाहाँ नभएको, बाबुको भौतिक उपस्थिति, निजबाट पाउनुपर्ने वात्सल्य प्रेम र हेरविचार वा जिम्मेवारी कहिल्यै नउठाएको, त्यस्ता बालबालिकाले निज बालिग भएपछि बाबु भएको आधार पुष्टि गर्न नसकेको तर त्यस्ता बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुले हालसम्म नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन । त्यस्ता व्यक्तिहरुको बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्नेछ ।

२. नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

३. नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।

४. सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएमा देहायका नागरिकहरुले नागरिकता प्राप्त गर्न सहजीकरण हुने

१. अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुनेछ ।

२. संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित हुनेछैन ।

३. नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ ।

४. आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

५. विद्यमान समयमा बदलिँदो सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकताविहीन भइरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।

६. नेपाली बाबु वा आमाका सन्तानलाई वैदेशिक यात्राको सहजीकरणका लागि नाबालक परिचयपत्र प्रदान गर्न सकिनेछ ।