सन् २०२५ को पछिल्लो ६ महिनासम्ममा २८,५२५ जना अवैध आप्रवासीलाई मलेसियाबाट निकाला।

पेटालिङ जाया (मलेसिया):= यस वर्षको पहिलो ६ महिनामा मलेसियाले २८ हजारभन्दा बढी अवैध आप्रवासीलाई मलेसियाबाट देश निकाला गरेको छ। मलेसिया सरकारको गृह मन्त्रालयले दिएको विवरणअनुसार, १ जनवरीदेखि ६ जुलाई २०२५ सम्म २८,५२५ जना अवैध आप्रवासीलाई मातृभूमि फिर्ता पठाइएको हो।

फिर्ता पठाइएकामध्ये २१,०३९ जना (७४%) वयस्क पुरुष थिए भने ६,१४५ जना (२१%) वयस्क महिला, ७७८ बालक (३%) र ५६३ बालिका (२%) रहेका मन्त्रालयले जनाएको छ।राष्ट्रियताअनुसार, सबैभन्दा धेरै इन्डोनेसियाली ११,०८५ (३९%) जना फिर्ता पठाइएका छन्। त्यसपछि म्यानमारका ४,८८५ (१७%) र फिलिपिन्सका ४,४६५ (१६%) जना रहेका छन्।

मन्त्रालयका अनुसार, आप्रवासन ऐन १९५९/६३ (ऐन १५५) अन्तर्गत कानुनी प्रावधानअनुसार आप्रवासीहरूलाई मूल देशमा फिर्ता पठाइएको हो। यद्यपि, मलेसिया संयुक्त राष्ट्रसंघको १९५१ को शरणार्थी महासन्धिको पक्षकार नभए पनि मानवीय आधारमा non-refoulement (बलपूर्वक फिर्ता नगर्ने) सिद्धान्तलाई मान्यता दिइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

“त्यसैले, संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्त (UNHCR) कार्डधारीलाई, तेस्रो देशमा पुनःस्थापनाको प्रक्रिया बाहेक, देश निकाला गरिँदैन,” मन्त्रालयको अगस्ट २८ तारिखको लिखित संसदीय जवाफमा भनिएको छ।

यो जवाफ स्यर्लीना अब्दुल रशिद (PH–बुकित बेन्देरा) को प्रश्नमा दिइएको हो, जसमा उनले यस वर्ष जनवरीदेखि जुलाईसम्म कति आप्रवासीलाई निकाला गरिएको छ र त्यस क्रममा non-refoulement सिद्धान्त उल्लंघन नहुने सुनिश्चितताबारे सोधेका थिए।