मुख्यमन्त्री सिंह मलेसिया भ्रमणमा, तीज कार्यक्रमदेखी श्रमिकसंग भेटघाट गर्ने कार्यक्रम तय।

क्वालालम्पुर (मलेसिया):= मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मलेसिया भ्रमणमा आईपुग्नु भएको छ । आज शनिबार बिहानको समयमा मलेसिया आईपुग्नु भएका मुख्यमन्त्री सिंहलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिना लगायतको दूतावास प्रतिनिधिहरु , सञ्चारकर्मी , राजनीतिक दलका प्रतिनिधि तथा एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोलगायतको प्रतिनिधिहरूको टोली उपस्थित रहेको थियो।

मुख्यमन्त्री सिंहको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सचिवालयका अनुसार, उहाँले मलेसियामा कार्यरत हजारौं नेपाली कामदारहरूको वास्तविक अवस्था, समस्या र अनुभव प्रत्यक्ष सुन्ने, सरोकारवालासँग छलफल गर्ने र आवश्यक पहलका लागि पहल गर्ने कार्यक्रम राखिएको छ।
मधेस प्रदेश सरकारले यस भ्रमणलाई वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितमा कार्य गर्न सकिने अवसरका रूपमा लिएको छ।

साथै सिंहले मलेसिया भ्रमणको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा आयोजना हुने हरितालिका तीज विशेष कार्यक्रमलाई पनि सम्बोधन गर्ने आयोजक संस्थाका अध्यक्ष राकेश प्रसाद महतोले बताउनुभयो ।कार्यक्रमलाई रंगीन बनाउन नेपालका चर्चित कलाकारहरू सहभागी हुँदैछन्। गायिका अञ्जिला रेग्मी, मिसेल घिमिरे, झरना रिसाल, बार्सा राई, सामा देवानलगायतका कलाकारहरूले लोकप्रिय गीत–संगीत प्रस्तुत गर्नेछन्। यसबाहेक, स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रममा थप रौनक दिने अपेक्षा गरिएको छ।

अध्यक्ष महतोले भने, हिन्दु नारीहरुको महान चाडपर्व “हरितालिका तीज २०८२ विशेष कार्यक्रमले यहाँ कार्यरत नेपाली चेलीबेटीलाई माइतीघरको सम्झना दिलाउनेछ। साथै, नेपाली समुदायबीच सामाजिक सद्भाव र मेलमिलापको नयाँ वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।” कार्यक्रम आज साँझ ०६:०० बजेदेखि १०:०० बजेसम्म क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलको सभाहलमा भव्यताका साथ सम्पन्न हुने तय भएको छ।