एजेन्सी (नयाँदिल्ली):= टिम इण्डियाका टेस्ट कप्तान शुभमन गिललाई आइसिसीले जुलाई महिनाको उत्कृष्ट खेलाडीको अवार्ड दिएको छ । इंग्ल्याण्डका कप्तान बेन स्टोक्स र दक्षिण अफ्रिकी अलराउण्डर वियान मुल्डरलाई पछि पार्दै गिल ‘आइसिसी प्लेयर अफ द मन्थ’ बन्नुभएको हो । जुन र अगस्टको बीचमा इंग्ल्याण्डमा खेलिएको एन्डरसन-तेन्डुलकर ट्रफीमा शुभमनले चार शतक बनाउनुभएको थियो ।
महिला क्रिकेटमा इंग्ल्याण्डकी ब्याट्सम्यान सोफिया डन्क्लीले यो अवार्ड उचाल्नुभयो । उहाँले आफ्नै टोलीकी सोफी एक्लेस्टोन र आयरल्याण्डकी कप्तान ग्याबी लुइसलाई पछाडि छोड्नुभयो । गिलले चौथोपटक आइसिसी महिनाको उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको हो । ‘पुरस्कारको महत्व धेरै उच्च छ । महिनाको उत्कृष्ट खेलाडी हुनु मेरा लागि सम्मानको कुरा हो,’ अवार्ड पाएपछि गिलले भन्नुभयो, ‘यसपटक यो पुरस्कारको महत्व धेरै उच्च छ, किनकि यो टेस्ट कप्तानीमा मेरो पहिलो शृंखलाको प्रदर्शनका लागि प्राप्त भएको थियो ।’
गिल चारपटक पुरस्कार जित्ने पहिलो पुरुष खेलाडी हुनुहुन्छ। गिलले यस वर्ष फेब्रुअरीमा पनि पुरस्कार जित्नुभएको थियो। साथै, उहाँले २०२३ मा दुईपटक यो पुरस्कार पाउनुभयो । महिला खेलाडीहरूमा अस्ट्रेलियाका एश्ले गार्डनर र वेस्ट इण्डिजका कप्तान हेली म्याथ्यूजले पनि चार/चारपटक यो पुरस्कार जित्नुभएको छ । एजेन्सी




















