काठमाडौं:= आगामी भदौ १२ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कोशोढुंगा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ ।
निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले गर्नुभएको छ । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना, संकल्प छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा सिनेमाका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।
कविताले क्रमशः ट्टदै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ । लिरिकल भिडियोमा चलचित्रका अधिकांश मुख्य पात्रलाई देखिन्छ ।
जसले उनीहरूको चरित्र र भूमिका प्रष्ट पार्छ । कवितांशमार्फत निर्देशकले चलचित्रको केही कथा संकेत गर्न खोजेका छन् । तर, कथा प्रष्ट भने भइसकेको छैन । किस्ताकिस्तामा कथा के हो खोल्दै जाने निर्देशक सरोज पौडेलले बताउनुभएको छ ।
यसैबीच, निर्माणपक्षले तीनवटा पोष्टर पनि सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । एउटा पोष्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मञ्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले हुनुहुन्छ ।
अर्को पोष्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड हुनुहुन्छ भने अर्कोमा सुरक्षा पन्त र मञ्जिल कुमार हुनुहुन्छ । यो पोष्टरमा सुरक्षाले भारी बोक्नुभएको छ । मन्जिद कसैलाई हेरिरहनुभएको छ ।
तीनवटै पोष्टरमा कलाकारहरू चरित्रको लुक्समा छन् । निर्माणटिमले केही दिनअगाडि निर्माण प्रेमिल गीत ‘भंगेरा भगेरी’सार्वजनिक गरेको थियो । त्यसअघि ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको थियो । जुन गीत अहिले टिकटकमा अत्याधिक मन पराइएको छ ।
नरदेवी फिल्मस्को प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनय छ ।
प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुनुहुन्छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेञ्चुरी र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनुभएको छ ।
यो चलचित्र नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुनेभएको छ । यसलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै हुनुहुन्छ । डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।




















