क्वालालम्पुर (मलेसिया):= मलेसियामा सम्पन्न भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नेपाली टोलीका खेलाडीले तीन स्वर्णसहित चार पदक जित हात पारेको छ ।
शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको खेलमा भाग लिन नेपाली टोलीको प्रशिक्षकको रुपमा श्रीकृष्ण खड्का, म्यानेजरमा गणेशबहादुर खड्का र टोली प्रमुखमा महेन्द्रराज घिमिरे लगायत मलेसिया आईपुगेका थिए। सम्पन्न भएको खेलमा पुरुष ४० केजीमुनि तौल समूहमा केनिश खड्काले स्वर्ण जितेका छन् । फाइनलमा मलेसियन खेलाडीलाई हराएका केनिशले च्याम्पियनसिप बेल्टसमेत पाएका छन् ।

६६ केजी तौल समूहमा गोविन्द योञ्जन तामाङ पनि स्वर्ण जित्न सफल भए । उनले स्वर्ण भिडन्तमा पाकिस्तानका खेलाडीलाई हराएर बेल्ट प्राप्त गरे । आयुश बोहराले स्पिड किकमा स्वर्ण जितेका हुन् । उनले फाइनलमा मलेसियन खेलाडीलाई पराजित गरी बेल्ट जिते । ७४ केजीमुनि सन्दीप बस्नेतले रजत हात पारे । उनी स्वर्ण भिडन्तमा पाकिस्तानी खेलाडीसँग पराजित भए ।




















