काठमाडौं := दोस्रो संस्करणको नेपालप्रिमियर लिग (एनपिएल)को मिनीअक्सनको पहिलो चरण सम्पन्न भएको छ। शनिबार अबेर सम्पन्न मिनीअक्सनको पहिलो चरणमा आठ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका हुन् ।
तीमध्ये काठमाण्डु गोर्खाजमात्र आफ्नो कोटा पूरा गर्न सफल भएको छ । काठमाण्डु गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर पाँच खेलाडी अनुबन्ध गरेको हो । अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन् । पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा टोलीहरूले अनुबन्ध गर्ने अवसर पाउने छन् ।
यी हुन् सबैभन्दा महंगोमा अनुबन्ध खेलाडी
एनपिएल अक्सनबाट ‘ए’ क्याटेगोरीमा रहेका नौ खेलाडीबाट चारजना सबैभन्दा महँगो अर्थात् १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । ‘ए’ क्याटेगोरीमा देव खनाल सबैभन्दा पहिले अनुबन्ध हुनुभएको थियो । उहाँलाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम १५ लाखमा चाहेपछि भएको ‘लक्की ड्र’बाट चितवनले अनुबन्ध गर्न सफल भएको हो ।
त्यस्तै, अर्जुन साउदमाथि चितवन, विराटनगर किङ्स र कर्णाली याक्सले महँगो रकममा बोली लगाउँदा यसपटक पनि ‘लक्कीड्र’मा चितवन भाग्यमानी साबित भयो । पवन सर्राफ माथि चारटोलीले बोली लगाएका थिए । उहाँलाई चितवन, लुम्बिनी, कर्णाली र विराटनगरले अधिकतम १५ लाखमा चाहँदा भएको ‘लक्कीड्र’बाट कर्णालीले अनुबन्ध गर्यो ।
सबैभन्दा व्यग्र प्रतीक्षामा रहनुभएका आदिल आलममाथि आठवटै टोलीले बोली लगाएका थिए । न्युनतममूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै आठवटै टोली इच्छुक देखिएका थिए । त्यसपछि भएको ‘लक्कीड्र’बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो र आदिल काठमाण्डुमा १५ लाख रुपैयाँमा अनुबन्ध हुनुभयो ।
‘ए’ क्याटेगोरीका अन्य खेलाडीमा दिलिपनाथ र सूर्य तामाङ बेस रकम अर्थात् १० लाख रूपैयाँमा क्रमशः लुम्बिनी लायन्स र विराटनगर किङ्समा अनुबन्ध हुनुभयो ।
आदिलले काठमाण्डु गोर्खाजबाट खेल्ने
एनपिएलको मिनी अक्सनमा चर्चित अलराउण्डर आदिल आलमलाई काठमाण्डु गोर्खाजले भित्र्याएको छ । सबै आठवटै फ्रेन्चाइज टोलीले १५ लाखको अधिकतम मूल्यमा बोली लगाएपछि अन्ततः ‘लक्कीड्र’मार्फत काठमाण्डु गोर्खाजले आफ्नो टोलीमा भित्र्याएको हो ।अक्सनमा आदिलको प्रदर्शन र क्षमताप्रति सबै टोलीको चासो उच्च देखिएको थियो ।
अधिकतम मूल्यको सीमा समान भएकाले नियमअनुसार ‘लक्कीड्र’ प्रक्रिया अपनाइएको हो । ड्रमा काठमाण्डु गोर्खाजको नाम निस्किएपछि उहाँ टोलीको हिस्सा बन्नुभयो । स्पट फिक्सिङ सम्बन्धी मुद्दाका कारण आदिलले अघिल्लो संस्करणको एनपिएल गुमाउनुभएको थियो ।
कुन खेलाडी कसले किन्यो ?
मयन यादवः जनकपुर (सातलाख ५० हजार)
आदित्य महताः जनकपुर (पाँचलाख)
सचिन भट्टः जनकपुर (दुईलाख)
हेमन्त धामीः सुदूरपश्चिम (१० लाख)
टेकबहादुर रावतः सुदूरपश्चिम (दुईलाख)
दीपेन्द्र थापाः सुदूरपश्चिम (दुईलाख)
पवन सर्राफः कर्णाली (१५ लाख)
युवराज खत्रीः कर्णाली (१० लाख)
इमरान शेखः कर्णाली (दुईलाख)
दीपक डुम्रेः कर्णाली (दुईलाख)
देव खनालः चितवन (१५ लाख)
अर्जुन साउदः चितवन (१५ लाख)
सन्तोष यादवः काठमाण्डु (१० लाख)
उत्तम थापा मगरः काठमाण्डु (तीन लाख)
मोहमद आदिल आलमः काठमाण्डु (१५ लाख)
आकाश त्रिपाठीः काठमाण्डु (सात लाख)
तुलबहादुर थापाः काठमाण्डु (दुई लाख)
कृष्ण पौडेलः पोखरा (दुई लाख)
अर्जुन कुमाल : पोखरा (पाँच लाख)
अभिषेख तिवारीः पोखरा (दुई लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशीः विराटनगर (पाँच लाख)
साहिल पटेल : विराटनगर (पाँच लाख)
दिलीप नाथः लुम्बिनी (१० लाख)
शेर मल्लः लुम्बिनी (१० लाख)
विशाल पटेलः लुम्बिनी (पाँचलाख)




















