काठमाडौं:= चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य भूमिकामा देखिएको चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार क्युएफएक्स सिभिल मलमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले गाउँले युवाको धनी बन्ने सपना र त्यसले भोग्ने संघर्षको कथा प्रस्तुत गरेको छ ।
चलचित्रमा केदार घिमिरे विभिन्न अवतारमा देखिनुभएको छ । उहाँको वरिपरि केन्द्रित ट्रेलरमा हास्यरसयुक्त संवादले मनोरञ्जन प्रदान गर्छ । साढे तीन मिनेटभन्दा लामो ट्रेलर चलचित्रका मुख्य पात्र कुबेर शर्मा (केदार घिमिरे)को वरिपरि घुमेको छ । आर्थिक अभाव झेलिरहेको कुबेर पात्रले अचानक बिना मिहिनेत अकूत पैसा पाएपछि उसले गर्ने विभिन्न हर्कतलाई हास्य शैलीमा देखाइएको छ । अभिनेत्री वर्षा सिवाकोटी केदारको सेक्रेटरीको भूमिकामा देखिनुभएको छ ।
हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र केदार र वर्षासहित विल्सन विक्रम राई, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी (मिस पबी), राधिका कँडेल लगायतको अभिनय छ भने अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा हुनुहुन्छ । मुनाल घिमिरे प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता मधुसुदन शर्मा हुनुहुन्छ ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, मित्र डि.गुरुङको सम्पादन, सामीप्य राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, त्सुजील कर्माचार्यको ब्याकग्राउण्ड म्युजिक, साहिल खानको ट्रेलर सम्पादन तथा दीपक शर्मा र बाबुल गिरीको संगीत छ । चलचित्रमा समावेश ‘जिन्दगी चल्दैछ ऐसमा’ गीत अहिले चर्चामा छ ।
ट्रेलरको भिडियो हेर्नुस् :



















