काठमाडौं := प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज (शनिबार) विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ। योसहित आज क्वाँटी खाने पनि चलन छ । यस्तै, आज संस्कृत दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस र अन्तर्राष्ट्रिय भू-संरक्षण दिवस पनि मनाइँदै छ ।
जनै पूर्णिमा, रक्षा बन्धन
हिन्दू धर्मावलम्बीहरूले आज जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदै छन् । जनै लगाउनेहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन। यसैदिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राहृमण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनै पूर्णिमा पर्व मनाउने प्रचलन रही आएको छ । शास्त्रीय मान्यता अनुसार विशेषगरी तागाधारी (ब्राहृमण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सांगे (समाप्ती) को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यसदिन स्नान गरी सप्तऋषिसहित ब्रहृमा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।
तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।यो दिन काठमाडौंको पशुपतिनाथ र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्दछ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्र र काठमाडौंमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रूपमा मनाउँछन् ।
जनै पूर्णिमाको मन्त्रः
‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्ः ‘जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।
तराई-मधेस क्षेत्रमा ‘राखी’ बाँधिँदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदी बहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।
पर्वका लागि दाजुभाइ तथा दिदी बहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । पर्वका लागि दिदी बहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदी बहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन्। अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् ।
स-साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन् । मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ-दिदी बहिनीबीच प्रेम, सद्भाव र एक-अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अंग नै बनेकाले विगतमा हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय यो पर्व पहाड र काठमाडौंमा पनि विस्तृत रूपमा मनाउन थालिएको छ ।




















