मलेसिया (गोम्बाक) := मलेसियन सडक यातायात विभाग (RTD) ले अबदेखि विदेशी नागरिकले चलाएका व्यावसायिक मालवाहक सवारीसाधनहरू र लाइसेन्स जफत गर्ने निर्णय गरेको छ । साथै, यस्ता विदेशीहरूलाई नियुक्त गर्ने कम्पनीहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।
RTD का वरिष्ठ प्रवर्तन निर्देशक मुहम्मद किफली मा हसनले बताए अनुसार, विदेशी नागरिकहरूलाई व्यावसायिक चालक अनुमतिपत्र (Vocational Driving License) लिन कानुनी रूपमा अनुमति छैन, जसकारण व्यावसायिक सवारी चलाउनु पूर्ण रूपमा गैरकानुनी हो ।
उनका अनुसार, यो वर्षको जुलाईसम्म २,७३३ वटा मुद्दा विदेशीहरूबाट व्यावसायिक सवारी सञ्चालन गरेको फेला परेको छ। तीमध्ये २,५५१ मुद्दाहरूमा वैध मालबाहक चालक अनुमतिपत्र थिएन, ९३ मुद्दामा सार्वजनिक सवारी चालक अनुमतिपत्र थिएन, र ८९ मुद्दामा सवारी अधिक तौल भएका थिए ।
गत वर्ष ५,२५९ यस्तै मुद्दाहरू दर्ता भएका थिए, जसमा अधिकांशले मालबाहक चालक अनुमति बिना सवारी चलाएका थिए। २०१० को भूमि सार्वजनिक यातायात ऐन (Land Public Transport Act) अन्तर्गत RTD ले यस्ता सवारीसाधनहरू जफत गर्न र अदालतमार्फत दण्ड तथा जफत प्रक्रिया अघि बढाउन सक्नेछ। कम्पनीहरूका अनुमतिपत्रसमेत खारेज गर्न सकिनेछ।
किफलीले सबै ट्रान्सपोर्ट अपरेटर , कम्पनीहरूलाई आफ्नो साथमा अनिवार्य वैध कागजात र आवश्यक योग्यता भएको कर्मचारी मात्रै राख्न आग्रह गरे। उनले सडक सुरक्षाको सुनिश्चितता र यातायात प्रणालीको अखण्डता कायम राख्नका लागि अनुगमन र प्रवर्तन कार्य निरन्तर चलाइने बताए ।
उनले भने “जो–कोहीले पनि सडक यातायात ऐन १९८७, भूमि सार्वजनिक यातायात ऐन २०१० वा अन्य लागू कानून उल्लंघन गरेमा, RTD ले कडा कारवाही र कुनै किसिमको सम्झौता नगर्ने कदम चाल्नेछौं,” उनले स्पष्ट भने । Bernama




















