नयाँदिल्ली:= इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा अब लिग चरणका १३ खेलमात्र बाँकी छन् । तीन टोली प्लेअफ दौडबाट बाहिरिँदा सात टोली शीर्ष चारमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । भारत-पाकिस्तान तनावले स्थगित आइपिएल आगामी आज (शनिबार) देखि पुनः सुरु हुँदैछ ।
नयाँ तालिकाले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ । पछिल्ला दुई दिनमा लखनउ, मुम्बई, पञ्जाव र बैंग्लुरुका खेलहरू छन् । चारै टोली प्लेअफ दौडमा छन् र पछिल्ला खेलहरूको नतिजाले शीर्ष-२ स्थान पनि निर्धारण गर्नेछ।
११ खेलमा आठ जितबाट १६ अंकसहित गुजरात पहिलो स्थानमा छ । टोलीको दिल्ली, लखनउ र चेन्नईसँग तीन खेल बाँकी छ । यीमध्ये एउटा खेल जिते पनि टाइटन्स प्लेअफमा पुग्नेछ । यद्यपि, यदि टोली शीर्ष-२ मा पुग्न चाहन्छ भने उसले कम्तीमा दुई खेल जित्नुपर्नेछ । तीनवटै खेल जितेर गुजरातले शीर्ष–२ मा आफ्नो स्थान पक्का गर्नेछ ।
बैंग्लुरुको पनि ११ खेलमध्ये आठ जितबाट १६ अंक छ तर गुजरातभन्दा खराब रनरेटका कारण टोली दोस्रो स्थानमा छ । आरसिबीलाई प्लेअफमा पुग्न तीनमध्ये केवल एक जित आवश्यक छ । टोलीले कोलकाता, हैदराबाद र लखनउको सामना गर्नुपर्नेछ । शीर्ष–२ मा पर्न आरसिबीले बाँकी तीन खेल पनि जित्नुपर्नेछ ।
पञ्जावले ११ खेलमा सात जित र एक बराबरीबाट १५ अंक जोडेको छ । टोलीले अब राजस्थान, दिल्ली र मुम्बईको सामना गर्नुपर्नेछ । प्लेअफमा स्थान पक्का गर्न पञ्जावलाई तीनमध्ये दुई खेल जित्न आवश्यक छ । १७ अंकसहित यदि टोलीले छनोट हुन चाहन्छ भने दिल्लीलाई हराउनुपर्नेछ ।
यदि पञ्जावले क्यापिटल्सलाई पराजित गर्यो भने दिल्ली वा मुम्बईबाट केवल एउटा टोली प्लेअफमा पुग्न सक्षम हुनेछ किनकि दुवैले एकअर्काको सामना गर्नुपर्नेछ। शीर्ष-२ मा पर्न पञ्जावले तीनवटै खेल जित्नुपर्नेछ र गुजरात वा बैंग्लोरमध्ये एक खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
मुम्बई इण्डियन्सले सुरुवाती पाँच खेलमध्ये एक खेलमात्र जितेको थियो तर टोलीले पछिल्ला सात खेलमध्ये ६ खेल जितेर प्लेअफमा पुग्ने आशा कायम राखेको छ । १२ खेलमध्ये सात खेल जितेर एमआई १४ अंकसहित चौथो स्थानमा छ ।
यदि पाँचपटकको च्याम्पियन टोली प्लेअफमा पुग्न चाहन्छ भने उसले दिल्ली र पञ्जावविरुद्धका बाँकी दुवै खेल जित्नुपर्नेछ । यदि एमआईले एउटा पनि खेल हारेमा प्लेअफमा पुग्ने उसको आशा अन्य टोलीहरूमा सीमित हुनेछ ।
दिल्लीले प्रतियोगिताको सुरुवात लगातार पाँच खेल जितेर गरेको थियो तर टोलीले पछिल्ला ६ खेलमध्ये चार खेलमा हार बेहोरेको थियो । क्यापिटल्स ६ जित र एक बराबरीबाट १३ अंकसहित पाँचौं स्थानमा छ । डिसीले गुजरात, मुम्बई र पञ्जावविरुद्ध तीन खेल खेलेको छ, तीनै शीर्ष चारमा छन् ।
यदि क्यापिटल्स यहाँबाट छनोट हुन चाहन्छ भने उसले तीनै खेल जित्नुपर्नेछ । यदि टोलीले मुम्बई र पञ्जावलाई हरायो भने दुई जितले पनि प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । डिफेन्डिङ च्याम्पियन कोलकाताले १२ खेलमा केवल पाँच जित हासिल गरेको छ, टोलीको एक खेल पनि अनिर्णित रहृयो, यी खेलबाट ११ अंकसहित कोलकाता छैटौं स्थानमा छ ।
केकेआरले बैंग्लोर र हैदराबादविरुद्ध दुई खेल खेल्नेछ । यदि टोलीले एक खेल पनि हारेमा प्लेअफबाट बाहिरिनेछ। दुई खेल जितेर पनि यदि केकेआर प्लेअफमा पुग्न चाहन्छ भने पञ्जाव, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ । लखनउले ११ मध्ये पाँच खेलमात्र जितेको छ र १० अंकसहित ७औं स्थानमा छ ।
एलएसजीको हैदराबाद, गुजरात र बैंग्लुरुबाट तीन खेल छन् । तीनवटै खेल जिते पनि टोलीको १६ अंकमात्र पुग्नेछ । यहाँबाट फेरि छनोट हुनका लागि टोलीले पञ्जाव, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ । सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्लेअफ चरणबाट बाहिरिएका छन् ।
अब तीनै टोलीले शीर्ष सात टोलीको गणित बिगार्न सक्छन् । आरआर र सिएसकेले पनि एकअर्काविरुद्ध खेल खेल्नुपर्नेछ तर यसले कसैलाई पनि हानि वा फाइदा पु¥याउने छैन । अर्कोतर्फ यदि तीनै टोलीले शीर्ष सात स्थानमा रहेको एउटा टोलीलाई पनि हराए भने प्लेअफमा पुग्ने उनीहरूको आशा चकनाचुर हुनसक्छ ।
जडेजा सबैभन्दा लामो समयसम्म नम्बर १ टेस्ट अलराउण्डर
भारतका रविन्द्र जडेजा आइसिसी अलराउण्डर टेष्ट वरीयतामा सबैभन्दा लामो समयसम्म नम्बर १ मा रहने खेलाडी बन्नुभएको छ । उहाँले ११५१ दिन अर्थात् ३८ महिनादेखि टेष्ट क्रिकेटमा अलराउण्डरको वरीयतामा शीर्ष स्थान कायम राख्नुभएको छ । गत वर्ष जडेजाले उत्कृष्ट सिजन बिताउनुभयो ।
उहाँले २९.२७ को औसतमा ५२७ रन बनाउनुभयो । उहाँले २४.२९ को औसतमा ४८ विकेट पनि लिनुभयो । जडेजाले ज्याक कालिस, कपिल देव, इमरान खानजस्ता खेलाडीहरूलाई पछाडि छोड्नुभएको छ । उहाँ ९ मार्च २०२२ मा वरीयताको शीर्ष स्थानमा हुनुहुन्थ्यो ।
बुधबार जारी गरिएको टेष्ट अलराउण्डर वरीयतामा जडेजा ४०० रेटिङ अंकका साथ नम्बर-१ मा हुनुहुन्छ । उहाँपछि बंगलादेशका मेहदी हसन मिराज (३२७ अंक) र मार्को जानसन (२९४ अंक) हुनुहुन्छ । अष्ट्रेलियाका प्याट कमिन्स र बंगलादेशका शकिब अल हसन शीर्ष पाँचको सूचीमा परेका छन् ।
अधिकांश विदेशी खेलाडी नफर्कने
आइपिएल रोकिएपछि आ-आफ्ना देश फर्किएका अधिंकाश विदेशी खेलाडी जारी सिजनमा नफर्किने भएका छन् । अष्ट्रेलियाका ट्राविस हेड र प्याट कमिन्समात्रै आइपिएल खेल्ने पक्का भएको छ । मिचल स्टार्क र जस हैजलवुडको सम्भावना निकै कम देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेष्ट इण्डिजका खेलाडीको अन्तर्राष्ट्रिय खेलका कारण आइपिएलमा उपलब्ध हुने सम्भावना निकै कमजोर बनेको छ । फिल साल्ट, रोमारियो सेफर्ड र ट्रेट बोल्ट जस्ता खेलाडी आफ्नो टिममा समावेश हुनुभएको छ ।
शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सका कागिसो रबाडा, रासिद खान, शेरफन रदरफोर्ड, करिम जन्नत र दसुन शकाना भारतमै हुनुहुन्छ । जस बटलर र जेराल्ड कएट्जी चाडै टिमसँग जोडिँदै हुनुहुन्छ । यता, आरसिबीका लागि टिम डेविड, शेफर्ड, साल्ट, जैकव बेथेल, लियम लिविंस्टोन र नुवान थुषारा टिमसँगै अभ्यास गरिरहनुभएको छ । जस हैजलवुड भने इन्जुरीका कारण टिमसँग हुनुहुने छैन ।
पञ्जावका ग्लेन म्याक्स्वेलको स्थानमा जेभियर बार्टलेट अनुबन्ध हुनुभएको छ । जस इंग्लिस, मार्कस स्टोयनिस, मार्को यानसन, अजमतुल्लाह ओमारजाई, आरोन हार्डी र काइल जिमिसन टिमसँगै हुनुहुन्छ । मुम्बईमा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्ट जोडिनुभएको छ । यता, दिल्लीका मिचेल स्टार्क फर्कन मुस्किल देखिएको छ । कोलकाताका मोइन अली पनि फर्किनु हुनेछैन । एजेन्सी ।




















