नेपाली महिला क्रिकेट टोली टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश

काठमाडौं := नेपाली महिला क्रिकेट टोली आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङ्कङको समान पाँच-पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।

आइसिसीको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् दुई वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो । नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन हुँदा पाँच अंक जोडेको थियो भने हङ्कङको चार खेलमा एक जित र तीन नतिजाविहीन हुँदा पाँच अंक भएको थियो ।

हङ्कङ विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूहविजेता बनेर अघि बढ्ने थियो । तर, हङ्कङ एक जितमै सीमित भएको हो । नौ टोली सहभागी प्रतियोगितामा तीन समूहमा रहेका तीन-तीन टोलीबाट शीर्ष टोली सुपर-३ मा पुगेका छन् । त्यहाँबाट एकअर्कासँग खेलेपश्चात् शीर्ष दुई टोली विश्वकप ग्लोबल छनोटमा पुग्ने छन् । नेपालले अब सुपर तीन मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

दुवै टोली वरियतामा नेपालभन्दा माथि छन् । समूह चरणमा दुवै टोलीले दुई जित निकाल्दा दुई नतिजाविहीन भएका थिए । थाइल्याण्डसँग नेपाल केही महिनाअघि घरेलु मैदानमै लगातार तीन पटक पराजित भएको थियो । यूएईलाई नेपालले पछिल्लोपटक महिला एसिया कपमा हराएको थियो । त्यसअघि भने विश्वकप एसिया छनोटमै पराजित भएको थियो ।

यूएईको टोली पछिल्लो समय राम्रो लयमा देखिएको छ भने थाइल्याण्ड पनि विश्वकप खेलिसकेको टिम भएकाले नेपालका लागि दुवै टोलीसँगको खेल चुनौतीपूर्ण हुनेछन् । समूह चरणको अंक पनि सुपर-३ मा जोडिने भएकाले नेपाललाई कम्तीमा एक खेल जित्नैपर्ने दबाब यसै पनि रहनेछ । यूएई तुलनात्मक रूपमा थाइल्याण्डभन्दा केही सहज प्रतिद्वन्द्वी हुनेछ ।

सुपर–३ मा आफ्नो पहिलो खेलमा नेपालले सोमबार यूएईसँग खेल्नेछ । अर्को खेल मंगलबार थाइल्याण्डसँग हुनेछ । समूहको शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटमा सहभागी हुने १० टोलीमध्ये अहिलेसम्म बंगलादेश, अमेरिका र स्कटल्याण्डले मात्रै स्थान पक्का गरेका छन् । ग्लोबल छनोटमा एसिया, युरोप र अफ्रिकाबाट समान दुई तथा एसिया प्यासिफिकबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । ग्लोबल छनोटबाट चार टोलीले विश्वकप २०२६ खेल्नेछन् ।