कम्पनी टाट पल्टिने भएर कामविहीन भएका ४ सय ६९ नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया सुरु।

साउदी अरेबिया := साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगेर कामविहीन भएका ४ सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ । नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकेको नेपाली दूतावासले जनाएको छ । साउदी अरबबाट नेपाल फर्किन इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । साथै राजदूतावासले विवरण अद्यावधिक गर्ने र नेपाल फर्कनु अगावै बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गर्ने विषयमा जानकारी गराउन राजदूतावासले आज मिति १५ मे २०२५ का दिन कम्पनीमा रहेका नेपाली श्रमिकहरूसँग भर्चुअल वैठक आयोजना गरी विवरण माग गरेको छ।

विवरण प्राप्त भएपश्चात् सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गरी नेपाल फर्कन चाहनेहरूका लागि यथाशक्य छिटो बहिर्गमन भिसा दिलाउन राजदूतावासले निरन्तर रूपमा थप कूटनीतिक पहल गरिरहने बेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । यस अवधिमा धैर्यताका साथ रहनुहुन तथा खाना, आवास र स्वास्थ्य सम्बन्धी समस्या परेमा राजदूतावासका तृतीय सचिव श्री दिनेश प्रसाद शिवाकोटीलाई मो.नं. ०५५८९००३३९ मा सम्पर्क गर्नुहुन दूतावासले अनुरोध गरेको छ।