काठमाडौं := प्रधानमन्त्री ओलीले पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र युट्युबलाई केही व्यक्तिले गलत रुपमा प्रयोग गरिरहेको बताउनु भयाे । ती गलत व्यक्तिहरुले निराशाको खेती गर्दा त्यसकै पछि लागेका केहीले आँखामा पट्टी बाँधेर हेर्ने काम गरिरहेको र पत्याइ रहेकाे उहाँले गुनासो गर्नुभयो । जनतालाई निराशामा पार्नु भनेको देश बर्बाद पार्नु भएको प्रधानमन्त्रीको भनाइ थियाे । यस्ता क्रियाकलापहरू देशका पक्षमा नभएर विपक्षमा भएको उहाँले बताउनु भयाे ।
अनलाइन मिडिया लोकान्तर डटकमको ९ औं वार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा लोकान्तरले ‘आशा र उन्नति’बारे राष्ट्रिय बहस सञ्चालनमा प्रधानमन्त्री ओलीले यस्तो भन्नुभएको हो ।
२०७३ वैशाख २४ गते शुभारम्भ भएको लोकान्तर डटकम बुधवार नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको हो। बहस कार्यक्रमकाे अन्त्यतिर पुग्नुभएकाे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बहसमा सहभागी गराइएकाे थियाे । प्रधानमन्त्री ओलीसँग लोकान्तरका प्रधान सम्पादक विमल गौतमले बहस गर्नुभएकाे थियाे ।
यसअघि बहस कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालसँग छलफल गरिएकाे थियाे ।
ललितपुरमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद, विभिन्न अदालतका न्यायाधीशहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, राजनीतिक दलका नेता तथा निजी क्षेत्रका प्रतिनिधिहरूकाे उल्लेख्य सहभागीता थियाे ।