सर्लाही:= भारतको ओडिसास्थित कलेजमा मृत फेला पर्नुभएको सर्लाहीको कविलासी निवासी प्रिसा साहको ओडिसामै अन्त्येष्टि गरिएको छ । कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रिसा बैशाख १८ गते बेलुका भारतकाे कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ओडिसामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।
त्यहाँदेखि घरसम्म शव ल्याउँदा टाढा पर्ने भएपछि बुवा श्यामप्रसाद, आमा पिङ्की र भाइ गौरवकुमार प्रिसाको शव ओडिसामै अन्त्येष्टि गरेर कविलासीस्थित घर फर्किनुभएको हो । प्रिसाका आफन्त भरत साहले श्वासनली थिचिएर प्रिसाको मृत्यु भएको भनी ओडिसाको अस्पतालले पोष्टमार्टम रिपोर्ट प्रदान गरे पनि प्रहरी, अस्पताल र कलेजले मृत्युको एकिन कारण दिनै नसकेको बताउनुभयो ।
बैशाख १८ गते बेलुुका प्रिसाको मृत्यु भएको खबर पाएपछि बुवा, आमा, भाई र आफन्त बैशाख १९ गते नै ओडिसीस्थित कलेजतर्फ प्रस्थान गर्नुभएको थियो । मृतक प्रिसाका ठुलोबुवा कमलदेव प्रसाद साहका अनुसार प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत हुनुहुन्थ्यो। बैशाख १८ गते दिउँसोसम्म परिवारका सदस्यले प्रिसासँग टेलिफोनमा कुराकानी गरेका थिए । त्यसबेला फोनमा कुरा गर्दा प्रिसाले आफू ठीक रहेको बताएपनि राति एक्कासी मृत्युको खबर परिवारलाई आएको थियो ।