एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ। लखनउ सुपर जायन्ट्सविरुद्ध ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा ३७ रनको जित निकालेको हो। यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो। जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो। लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट लिनुभयाे ।
जवाफी ब्याटिङकाक्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन बनाउनुभयाे । ४० बलको सामना गरेका उहाँले समान पाँचपाँच चौका र छक्का प्रहार गर्नुभयाे । अब्दुल समादले २४ बलमा ४५ रन बनाउनुभयाे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन बनाउनुभयाे। पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ। लखनउ भने १० अंकसहित सातौं स्थानमा छ।