नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको उपाधी ललितपुर सिटी एफसीले जित्यो।

काठमाडौं := तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साबिक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई दुई-एक गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

ललितपुरले उपाधिसहित ८० लाख र पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गर्नुभएको थियो । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनाएको थियो । उसका लागि इमोह इजाकियलको गोल गर्नुभयो । पहिलो हाफमा ललितपुरले एक-शून्यको अग्रता बनायो ।

खेलको ६४औँ मिनेटमा भने सुदील राईले पोखरालाई खेलमा फर्काउनुभयो । स्टेफन समीर बिनोङले हेडरमार्फत् प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाउनुभएको थियो तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गर्नुभयो ।

त्यसपछि खेलको ७४औँँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गर्नुभयो । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा दुईपटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो ।

ललितपुरले लिग चरणको सुरुवातमा काठमाडौंसँग दुई-दुईको बराबरी खेलेको थियो । त्यसपछि पोखरामाथि तीन-दुईको जित निकाल्यो । धनगढीसँग गोलरहित बराबरी, चितवनमाथि दुई-एक, बुटवलविरुद्ध दुई-शून्यको जित र झापासँग एक-एकको बराबरी खेल्दै प्रतियोगितामा अपराजित रहेको थियो ।

यस्तै, तीन जित र तीन बराबरीसहित १२ अंक जोड्दै ललितपुरले अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई दुई-एकले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

पोखराले लिग चरणको सुरुवात चितवनसँग दुई-शून्यको हारबाट गरेको थियो । त्यसपछि ललितपुरसँग तीन-दुईले पराजित भयो । काठमाडौंमाथि दुई-शून्यको जितले पुनरागमन गर्दै धनगढीसँग गोलरहित बराबरी र झापासँग एक-एक गोलको बराबरी खेलेपछि बुटवलमाथि दुई-शून्यको जित निकालेको थियो ।

दुई जित, दुई बराबरी र दुई हारसहित पोखराले आठ अंक जोड्दै गोलअन्तरका आधारमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्ने चौथो टोली बनेको थियो । इलिमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै तीन-शून्यको जित निकालेको थियो । दोस्रो क्वालिफायरमा धनगढीलाई एक-शून्यले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

घलान सर्वोत्कृष्ट खेलाडी
पोखरा थन्डर्सका फरवार्ड आयुश घलान नेपाल सुपर लिग (एनएसएल) २०२६ को सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको छ । फाइनलमा हार बेहोरे पनि पोखरालाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएका आयुश ‘एनसेल मोस्ट भ्यालुएबल प्लेयर’ चुनिनुभएको हो। उहाँले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

पोखराकै प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित हुनुभयो । उहाँले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, ललितपुरका मणिकुमार लामा ‘रेड बुल इनर्जेटिक प्लेयर’ चुनिनुभयो । उहाँले एक लाख रुपैयाँ पाउनुभयो ।

ललितपुरकै सन्तोष खत्री प्रतियोगिताको उदीयमान खेलाडी चुनिनुभयो । उहाँले पनि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयोे । धनगढी सिटी एफसीका अहमद हिजाजी प्रतियोगिताको उच्च गोलकर्ता बन्नुभयो । उहाँले प्रतियोगिताभर पाँच गोल गर्नुभएको थियो । ‘फेयर प्ले’ अवार्ड झापा एफसीले पायो ।