साफ यू-१९ पुरुष च्याम्पियनसिप-२०२५ का लागि नेपाली टोलीको घोषणा, को-को परे त ?

काठमाडौं := साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल यू-१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।

प्रतियोगिता भारतमा मे ९ देखि १८ सम्म आयोजना हुनेछ । यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ आयोजक भारत र श्रीलंका पनि छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले समूह चरणमा भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

घोषित टोलीमा तीनजना गोलकिपर भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ रहनुभएको छ । डिफेन्समा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का हुनुहुन्छ ।

मध्यपंक्तिका खेलाडीहरूमा कृष्णबहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लाछु थापा, सविनकुमार लुङ्गेली मगर, रञ्जित लामा, सुवास बम र विज्ञान खड्का हुनुहुन्छ भने फरवार्डमा पवन पाख्रिन, धरवेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङ रहनुभएको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।