काठमाडौं := भारतीय क्रिकेटको पुरुषतर्फको सेन्ट्रल कट्र्याक्टमा ३४ खेलाडी समेटिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार सार्वजनिक गरेको सूचीअनुसार सन् २०२४/२५ का लागि ३४ खेलाडी समेटिएका हुन् । नयाँ सेन्ट्रल कट्र्याक्टको सूचीमा विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह र रवीन्द्र जडेजा उच्चतम ग्रेड ‘ए’ प्लस श्रेणीमा पर्नुभएको छ ।
श्रेयस अøयर ग्रेड ‘बी’मा फर्कंदा इशान किसान भने ग्रेड ‘सी’मा पर्नुभएको छ । यी दुवै खेलाडी २०२३/२४ सिजनका लागि जारी गरिएको करार सूचीबाट बाहिर राखिएका थिए । भारतीय केन्द्रीय करार १ अक्टोबर २०२४ देखि ३० सेप्टेम्बर २०२५ सम्मका लागि लागू हुन्छ ।
श्रेयस अøयरको पुनरागमन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको पुरुष च्याम्पियन्स ट्रफीमा भएको उत्कृष्ट प्रदर्शनको कारण भएको हो, जहाँ उहाँले टोलीलाई उपाधिसम्म पुर्याउनुभएको थियो। इशान किसान केही समयदेखि भारतको टोलीमा ब्याकअप विकेटकिपर ब्याट्सम्यानको भूमिकामा रहनुभएको थियो। हालैको आइपिएलको सुरुवात शतकबाट गर्नुभएको थियो ।
ग्रेड ‘ए’ मा विकेटकिपर/ब्याट्सम्यान ऋषभ पन्त र केएल राहुल, तीव्र गतिका बलर मोहम्मद सिराज र मोहम्मद शमी, अलराउण्डर हार्दिक पाण्ड्या तथा ब्याट्सम्यान शुभमन गिल रहनुभएको छ । यसपटक ग्रेड ‘सी’मा पर्नुभएका अभिषेक शर्मा, हर्षित राणा, नितिशकुमार रेड्डी र वरुण चक्रवर्तीको यो पहिलो केन्द्रीय करार हो । ग्रेड ‘ए’ प्लसमा पर्ने खेलाडीले वार्षिक सात करोड भारु अर्थात् ११.२ करोड नेपाली रुपैयाँ तलब पाउँछन् । ग्रेड ‘ए’मा पर्ने खेलाडीले वार्षिक पाँच करोड भारु अर्थात् आठ करोड नेपाली रुपैयाँ पाउनेछन् ।
ग्रेड ‘बी’मा भएका खेलाडीले तीन करोड भारु अर्थात् ४.८ करोड नेपाली रुपैयांँ पाउँदा ग्रेड ‘सी’मा परेका खेलाडीले वार्षिक एक करोड भारु अर्थात् १.६ करोड नेपाली रुपैयाँ पाउँछन् । त्यसबाहेक खेलाडीहरूले प्रतिखेल खेलेबापत भत्ता पनि पाउँछन् । टेस्ट म्याचमा १५ लाख भारु, एकदिवसीयमा ६ लाख भारु र टी-२० मा तीन लाख भारु भत्ता दिने गरेको बिसिसिआईले जनाएको छ । एजेन्सी ।




















