काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिनुभएको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले केहीबेर अघि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनुभएको स्रोतले बतायो । बालुवाटार स्रोतका अनुसार परीक्षा सार्ने विषयमा निर्णय भएको तर, कहिलेदेखि हुने भन्नेबारे यकिन भने भएको छैन। वैशाख ११ देखि कक्षा १२ को परीक्षा हुने तालिका थियो। यसअघि आजै बसेको परीक्षा बोर्डको बैठकले तोकिएको समयमा नै परीक्षा गर्ने निर्णय गरेको थियो ।
सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि चलाउने तयारी गरेपछि आज नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएपछि सरकार अफ्ठ्यारोमा परेको छ । २२ दिनदेखि शिक्षकहरुको विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन जारी छ ।
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएसंगै अब कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको स्रोतले बताएको छ ।




















