काठमाडौं := जेठ ९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नरसिंहाः अवतार’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका सबै कलाकारहरूलाई स्थान दिइएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक सञ्जालमा अत्यधिक मन पराइएको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।
यसैबीच, निर्माणपक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेशचन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिभजंग बस्नेत, टार्जनलगायतका कलाकारलाई स्थान दिइएको छ । निर्देशक तथा लेखक दिवाकर भट्टराईका अनुसार, यो पोष्टरले चलचित्रमा कुन कलाकारहरूको गेटअप कस्तो छ भन्ने प्रष्ट पार्दछ ।
चन्द्र पन्तको कथा रहेको चलचित्रमा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजुविक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोष्टर डिजाइन छ । क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको यो चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।