चर्चित नायकहरुको अभिनय रहेको चलचित्र ‘महाभोज’का दुई नयाँ पोष्टर सार्वजनिक।

काठमाडौं := चलचित्र ‘महाभोज’का दुई नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सिनेमाघरमा आउन लागेको यो चलचित्रको आइतबार नयाँ पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरू चित्रित छन् ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतको मुख्य भूमिका हुनुहुन्छ । दुवै पोष्टरमा दयाहाङलाई खुशी भावमा देख्न सकिन्छ भने आर्यनको गेटअपले नेताको झल्को दिन्छ । अरू कलाकारहरू कोही निराश त कोही भावुक मुद्रामा देखिएका छन् ।

सार्वजनिक दुईमध्ये एउटा पोष्टरको पृष्ठभूमिमा एक हजारको नोट राखिएको छ भने दोस्रो पोष्टरमा ग्रामीण परिवेश देख्न सकिन्छ । यसले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको संकेत गर्छ । दुई चरणको पोष्टरपछि अब यही वैशाख ९ गते मंगलबार चलचित्रको टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

निर्देशक दिनेश राउतले ‘महाभोज’मा मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा रहेको बताउनुभयो। ‘समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस फिल्ममा उजागर गर्ने प्रयास गरेको छु’, उहाँले भन्नुभयो । निर्देशनको हिसाबले यो उहाँको आठौं चलचित्र हो ।

उहाँको पछिल्लो चलचित्र ‘पूजार सार्की’ सुपरहिट भएको थियो । ‘महाभोज’मा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको पनि अभिनय छ ।

विकास सुवेदीको लेखन रहेको यो चलचित्रको निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुनुहुन्छ । निर्माण पक्षका अनुसार चलचित्रलाई नेपालसँगै नेपालीहरू बसोवास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शन गरिनेछ ।