काठमाडौं := विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि शीर्ष तीन नेता एक ठाउँमा उभिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गणतन्त्र पक्षधर शक्ति एक हुने सहमति भएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ बसेको बैठकले विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि एक हुने निर्णय गरेको हो । बैठकमा अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचैनमा खलल पुर्याउनेप्रति सचेत हुँदै अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।
संक्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका निम्ति गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने कार्य पनि भएको खरेलले बताउनुभयो । छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि उपस्थिति थियो ।