काठमाडौं := आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोलीले आज (शनिबार) अफगानिस्तानको यु-१९ टोलीसँग खेल्दै छ । काठमाडौंमा जारी आईसीसी यु-१९ विश्वकप एसिया छनोटको अन्तिम दिनको खेलमा दुई दाबेदार टोली खेल्दा दुवैको नजर आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने यु-१९ विश्वकपमा हुनेछ ।
आजकोे उक्त महत्वपूर्ण खेल जित्ने टोलीले सन् २०२६ को जनवरी-फेब्रुवरीमा हुने विश्वकपको टिकट काट्नेछ । नेपाल घरेलु मैदानमै खेल्दा लगातार दोस्रोपटक छनोट हुने लक्ष्यमा रहँदा यसअघि सोझै खेल्ने गरेको अफगानिस्तान छनोटमा तानिएको प्रतिशोध साँध्ने दाउमा हुनेछ । अघिल्लोपटक २०२४ मा भएको यु-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेष्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुनेभएको हो ।
यस छनोट प्रतियोगिताअघि नेपालले अफगानिस्तानसँग माथिल्लो मूलपानी क्रिकेट मैदानमा तीन खेलको शृंखला खेलेको थियो जहाँ पहिलो खेल एकतर्फी रूपमा गुमाउँदा दोस्रो खेलमा नजिक पुगेर पराजित भएको थियो भने तेस्रो खेलमा शानदार बलिङ गर्दै जितेको थियो। आज तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपाली टोलीका कप्तान नरेन भट्टले महत्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताउनुभएको छ ।
हङ्कङसँगको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गर्नुभएको थियो । आईसिसी यु-१९ विश्वकपअन्तर्गत एसिया छनोटको अन्तिम खेलको टिकट मूल्य दुई सय रुपैयाँ तोकिएको छ । आजहुने नेपाल र अफगानिस्तानबीचको फाइनल सरहको खेलको टिकट मूल्य नेपाल क्रिकेट संघ (क्यान)ले दुई सय रुपैयाँ तोकेको हो ।टिकट आइएमई पेबाट काट्न सकिन्छ । जारी प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोली अहिलेसम्म अपराजित छन् ।
नेपालले युएई, हङ्कङ र ओमानलाई पराजित गर्दा अफगानिस्तानले पनि तिनै टोलीलाई पराजित गरेको हो। अफगानिस्तान तीन खेलबाट ६ अंकसहित पहिलो स्थानमा हुँदा नेपाल रनरेटमा मात्र कम भएर दोस्रो स्थानमा छ । नेपाल र अफगानिस्तानमध्ये एउटामात्र टोली जाने भएकाले आजको खेल रोमाञ्चक हुने देखिएको छ । यद्यपि मौसमका कारण पूरा खेल हुन पाउँछ वा पाउँदैन भन्ने अन्यौल छ । वर्षाका कारण खेल नभएको अवस्थामा अंकतालिकाको आधारमा सोझै अफगानिस्तान विश्वकपमा जानेछ ।
नेपाल र अफगानिस्तान सन् २००७ देखि हालसम्म कुल १९ पटक आमनेसामने भएका छन् । तीमध्ये १२ खेल अफगानिस्तानले जित्दा नेपालले सात खेल जितेको छ । नेपाली टोली नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहनुभएको छ । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा टोलीमा हुनुहुन्छ । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।
त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठपटक युवा विश्वकप खेलिसकेको छ । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङ्कङ र ओमानले छनोट पार गरेका हुन् । यो छनोटको विजेतामात्र सन् २०२६ मा जिम्बाबे र नामिबियामा हुने आइसिसी यु–१९ विश्वकपमा छनोट हुनेछ ।




















