युरोपा लिगको सेमिफाइनलको समीकरण पूरा, कुन – कुन टोली भिड्ने ?

लण्डन:= म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलको दोस्रो लेगमा बिहीबार राति लियोनलाई ५-४ ले हराएपछि समग्रमा ७-६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २-२ को बराबरी भएको थियो।

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन म्यानुएल उगार्टे र डियागो डालोटको, ब्रुनो फर्नान्डेज, कोबी माइनो र हृयारी मग्वायरले गोल गर्नुभयो । लियोनका लागि करेन्टिन टोलिसो निकोलस टाग्लियाफिको, रायन चर्ची र एलेक्जान्द्रे लाकाजेटले गोल फर्काउनुभयो ।

खेलको १०औं मिनेटमा उगार्टेको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा डालोटले टोलीको अग्रता दोब्बर बनाउनुभयो । टोलिसोले ७१ र टाग्लियाफिकोले ७७औं मिनेटमा गोल गर्दा लियोन २-२को बराबरीमा आयो ।

८९औं मिनेटमा टोलिसोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडे पछि लियोन १० खेलाडीमा समेटियो । अतिरिक्त समयमा धकेलिएको खेलको १०४औं मिनेटमा चार्चीले गोल गर्दा लियोन ३-१ ले अगाडि बढ्यो । १०९ मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दा लियोनको अग्रता ४-२ मा पुग्यो ।

फर्नान्डेजले ११४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई ४-३को स्थितीमा ल्याउनुभयो । ६ मिनेटपछि मनइनोले युनाइटेडलाई ४-४को बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको इन्जुरी टाइममा मग्वायरले गोल गर्दै युनाइटेडलाई ५-४ को रोमाञ्चक जित दिलाउनुभयो । यसैगरी बोडो ग्लिमट, टोटनहृयाम र एथलेटिक्स क्लब बिल्वाओले पनि आ-आफ्नो खेल जित्दै अन्तिम चारको यात्रा तय गरे ।

योसँगै युरोपा लिगको सेमिफाइनलको समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका दोस्रो लिगका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार क्लबको टुंगो लागेको हो । यस सिजनको युरोपा लिगको सेमिफाइनलमा प्रिमियर लिगका दुई क्लब म्यानचेस्टर युनाइटेड र टोटनहृयाम पुगेका छन् ।

त्यस्तै स्पेनिस ला लिगाबाट एथलेटिको बिल्बाओ र नर्वेजियन क्लब बोडो छन् । अब सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड एथलेटिको बिल्बाओसँग खेल्ने छ भने टोटनहृयामको सामना बोडोसँग हुनेभएको छ । सेमिफाइनलका खेल मे १ र मे ८ मा हुनेछन् । एजेन्सी ।